गम्भीर मोडमा पाकिस्तान

भाद्र१९,बीबीसी-पाकिस्तानका अल्पसंख्यक विपक्षीले मागेको राजीनामाको विरुद्ध समर्थन जुटाउन प्रधानमन्त्री नवाज सरिफले मंगलबार डाँकेको संसद्को संयुक्त सत्र स्थगित भएको छ। तीन दिनसम्म चलेको हिंसामा तीनको मृत्युपछि यसको आह्वान गरिएको थियो। केही दिनसम्म सत्र चल्ने भनिएको छ। उनले संसद्को दुवै सदनका आकस्मिक सत्रलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ। उनी मुलुककै सबभन्दा ठूलो दल पाकिस्तान मुस्लिम लिगका नेता हुन्।

उल्लेखनीय के छ भने एक लोकपि्रय निर्वाचित सरकारलाई लगभग सम्पूर्ण मुख्य विपक्षी दलको समर्थन छ। यस्तो सरकारलाई अल्पसंख्यक राननीतिक समूहको नेता इमरान खान र एक च्यारिटी नेटवर्क चलाएर बसेका मौलाना ताहिर अल कादरीका समर्थकहरूले चुनौती दिनुलाई त्यहाँ अनौठो राजनीतिक घटना मानिएको छ। खानले पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) र कादरीले पाकिस्तान अवामी तेहरिक (पीएटी) दलको नेतृत्व गर्छन्।

त्यहाँको इतिहासमा पहिलो पटक गत वर्ष एउटा सरकारले ५ वर्षे कार्यकाल पूरा गरेपछि चुनावी प्रक्रियाबाट सत्ता हस्तान्तरण भएको हो। लगभग निष्पक्ष ढंगले भएको निर्वाचनमा सरिफले भारी मत पाएका थिए। त्यही भएर संसद्बाट उनले समर्थन पाउने लभभग तय छ। सरिफ राजीनामाको एक सूत्रीय माग राखेर दुई विपक्षी नेता र त्यसका अनुयायीहरू सडकमा ओर्लेका हुनाले संसद्को सत्र सकिएपछि पनि त्यहाँको स्थिति कस्तो होला भन्न सकिने अवस्था छैन।

तीन सातादेखि जारी शान्तिपूर्ण विरोध प्रदर्शनले सोमबार उग्ररूप लियो। राजधानी इस्लामाबादमा प्रहरी र प्रदर्शनकारीबीच थुप्रै झडपहरू भए। सरकारले विपक्षी नेता खान र धर्मगुरु कादरीसँग पुनः सहमतिको प्रयास सुरु गरिरहेको हुनाले ढिलो गरी प्रहरी परिचालित भएका थिए। त्यतिबेला विपक्षीको भिड जम्मा भइसकेको हुनाले स्थिति अनियन्त्रित बनेको थियो।