नेपालसँग क्रिकेट खेल्न श्रीलंका तयार

भदौ १९,काठमाडौं–श्रीलंकाले नेपालसँग अन्तर्राष्ट्रिय क्रिकेट खेल्न तयार रहेको घोषणा गरेको छ। श्रीलंकाली क्रिकेट बोर्ड (एससीबी) को कार्यकारी समितिको बैठकले एसियाका नेपाल, अफगानिस्तान, युएई र हङकङसँग विभिन्न प्रतियोगिता खेल्ने निर्णय गरेको हो। यसअघि एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले टेस्ट मान्यता नपाए पनि अन्तर्राष्ट्रिय हैसियत भएका आफ्ना सदस्य राष्ट्रसँग क्रिकेट खेलेर उनीहरूको क्रिकेट विकासमा सहयोग पुर्‍याउन श्रीलंकाली क्रिकेट बोर्डसमक्ष प्रस्ताव राखेको थियो। नेपाललगायका राष्ट्रसँग खेल्दा श्रीलंकाले कुनै स्तरको टोलीलाई खेलाउने भन्ने विषयमा भने केही उल्लेख गरिएको छैन।

अफगानिस्तान, युएई र हङकङसँग एकदिवसीय अन्तर्राष्ट्रियको हैसियत छ भने नेपालले टीट्वेन्टी अन्तर्राष्ट्रियको मान्यता पाएको छ। बंलादेशमा यसै वर्ष भएको टीट्वेन्टी विश्‍वकपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाललाई टीट्वेन्टी अन्तर्राष्ट्रियको मान्यता दिएको थियो। यसको अर्थ नेपालले टेस्ट मान्यता प्राप्त राष्ट्रसँग टीट्वेन्टी प्रतियोगिता खेल्न पाउनु हो।आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।