केटीले मोबाइल नै राख्न नपाउने

भदौ १९ , काठमाडौं-भारतको उत्तर प्रदेशमा समुदायका केटीहरुलाई अर्को समुदायका पुरुषसँग प्रेम सम्बन्धमा पर्नबाट बचाउनका लागि केटीहरुले मोबाइल फोन राख्न नपाउने निर्णय त्यहाँको युवा संगठनले गरेको छ । ब्यापारी समुदाय भनिने बैश्य समुदायका युवाले गठन गरेको अखिल भारतीय बैश्य एकता परिषदले विद्यालय जाने र किशोरी केटीहरुले मोबाइल राख्न नपाउने निर्णय गरेको हो ।

यो अभियानको शुरुवात नयाँ दिल्लीबाट केही किलोमिटरको दुरीमा पर्ने आग्राबाट भएको बताइएको छ । परिषदको बैठकमा राज्यका मध्यम तथा साना उद्योग मन्त्री कलराज मिश्र समेत उपस्थित रहेको टाइम्स अफ इन्डियाले जनाएको छ । यो निर्णय गर्ने परिषदको बैठकमा हजारौं सहभागी थिए ।

यो परिषदले कक्षा १२ सम्म पढ्ने केटीहरुलाई फोनको प्रयोग गर्न रोक लगाउने र उनीहरुलाई प्रेम सम्बन्धको नाममा अनैतिक क्रियाकलाप गर्नबाट रोक्ने लक्ष्य लिएको छ । युवतीहरुलाई अन्य समुदायका पुरुषहरुले ‘लभ जिहाद’ अर्थात प्रेम युद्धको नाममा प्रेममा फसाएर यौन शोषण गर्ने गरेको भन्दै युवाहरुले यस्तो अभियान चलाएका हुन् । यद्यपी यो नियम मान्नका लागि आफूरुलाई बाध्य नपार्ने र सबैलाई आग्रह मात्र गर्ने युवाहरुको भनाइ छ । अन्य समुदायका ब्यक्तिहरुले भने यो समुदायमा विभाजन पैदा गर्ने षडयन्त्र भएको आरोप लगाएका छन् ।