अब सिमान्तकृतलाई निःशुल्क बिजुली

भदौ १९ , काठमाडौं-नेपाल विद्युत् प्राधिकरणले सिमान्तकृत समुदायलाई निःशुल्क बिजुली जडान गर्ने भएको छ । चालु आर्थिक वर्ष २०७१/ ०७२ का लागि ८ करोड रुपैयाँ बजेट विनियोजन गरेर दलित, अति विपन्न लगायतका सीमान्तकृत समुदायलाई निःशुल्क बिजुली जडान गर्ने भएको हो । प्राधिकरणको आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत सिमान्तकृतकालागि कार्यक्रम गर्न लागेको हो ।

आजको राजधानी दैनिक लेख्छ, प्राधिकरणले वितरण लाइन विस्तार तथा मिटर जडान सहुलियत आयोजना अन्तर्गत देशभरिका सीमान्तकृत समुदायकालागि निःशुल्क बिजुली जडान कार्यक्रम ल्याएको निमित्त कार्यकारी निर्देशक रामचन्द्र पाण्डेले जानकारी दिए ।

‘तार देखि मिटर जडान सम्म प्रधिकरणले निशुल्क रुपमा जडान गर्ने कार्यक्रम छ,’ पाण्डेले भने ‘ग्राहक तथा वितरण निर्देशनालय अन्तर्गतका आठ क्षेत्रीय कार्यालयमा एक एक करोड रुपैयाँ छुट्याएर कार्यक्रम अघि बढाउँछौं ।’