माओवादीका मागमा गम्भिर छलफल हुने

भदौ १७, काठमाडौँ -नेकपा माओवादीले उठाएका सर्वपक्षीय राजनीतिक सभालगायतका आठबुँदे मागका सम्बन्धमा प्रमुख तीन राजनीतिक दल र नेकपा–माओवादीबीच थप छलफल गरिने भएको छ । प्रधानमन्त्री सुशील कोइरालको संयोजनमा प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न प्रमुख तीन राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाल, एनेकपा माओवादी र नेकपा–माओवादीबीच अरु दुई दिन दलहरूबीच गम्भीररुपमा छलफल गर्ने सहमति भएको हो । एनेकपा माओवादीका वरिष्ठ नेता डा.बाबुराम भट्टराईका अनुसार संविधान निर्माणका सम्बन्धमा संविधानसभाबाहिर रहेको दललाई संविधान निर्माणका सन्दर्भमा सहमति कायम गराउने लक्ष्यअनुरुप सम्वादको प्रक्रिया सुरु भएकोे बताए ।

संविधान निर्माणमा सवै दलको सहभागिता कायम गराउने उद्देश्यका साथ आज बसेको बैठकमा नेकपा–माओवादीले उठाएको सर्वपक्षीय गोलमेच सम्मेलनको ढाँचालगायतका विषयमा आगामी बिहीबारसम्म दलहरूबीच गम्भीर छलफल गरी त्यही दिन साँझ दलहरूको औपचारिक बैठक बस्ने बताए । नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले सर्वपक्षीय राजनीतिक सभालगायतका विषयमा नेकपा–माओवादीले उठाएका मागका  सम्बन्धमा दलहरूबीच थप छलफल गरिने बताए ।

दुई दिनसम्म छलफललाई दलहरूबीच तीव्ररुपमा बढाइने जानकारी गराउँदै उहाँले संविधान निर्माणलगायतका विषयमा नेकपा–माओवादीलाई संविधानसभामा सहभागी गराउने सम्बन्धमा आजको बैठकलाई सकारात्मकरुपमा लिइएको बताए  । नेकपा–माओवादीका सचिव देव गुरुङले आजको बैठकमा नेकपा–माओवादीले सर्वपक्षीय राजनीतिक सभालगायतका विषयमा उठाएको सम्बन्धमा थप गृहकार्य गर्ने गरी बैठक सकिएको जानकारी गराउँदै दुई दिनसम्म यस विषयमा दलहरूसँग छलफल जारी रहने बताए ।