दसानायकेको दोस्रो कार्यकाल

भदौ १७, काठमाडौँ-पुवुदु दसानायकेले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई औपचारिक रूपमा दोस्रोपटक सम्हाल्ने भएका छन्। युवा तथा खेलकुद मन्त्रालयका सहसचिव चूडामणि पौडेल र प्रशिक्षक दसानायकेले सोमबार सम्झौतापत्रमा हस्ताक्षर गरे।तीन महिनाको क्यानडा बसाइपछि नेपाल फर्केका उनले मंगलबारदेखि औपचारिक काम सुरु गर्दै छन्। श्रीलंकन मूलका क्यानडेली प्रशिक्षक खेलकुद मन्त्रालयको आग्रहमा बिहीबार नेपाल फर्केका हुन्। दसबुँदे सम्झौता पत्रअनुसार उनले भदौ १७ देखि २०७२ को असार ३० सम्म दस महिना नेपाली टिम सम्हाल्नेछन्।

यसअघि २०११ को अन्तिममा एसीसी ट्वान्टी-ट्वान्टी प्रतियोगिताका लागि नेपाली टिम सम्हाल्न आएका उनले तीन महिना पहिले मलेसियामा सम्पन्न एसीसी पि्रमियर लिगसम्म टिमलाई प्रशिक्षण दिएका थिए। आर्थिक अभावको कारण देखाउँदै नेपाल क्रिकेट संघ (क्यान) ले उनको करार अवधि नथप्ने निर्णय गरेपछि दसानायके क्यानडा फर्केका थिए। नेपाली राष्ट्रिय टिम र यू-१९ टिमको प्रशिक्षकको रूपमा रहने दसानायकेले मासिक १० हजार अमेरिकी डलर पारिश्रमिक पाउनेछन्। त्यसमा कर कट्टी हुनेछ। उनले यसअघिको कार्यकालमा मासिक ८ हजार डलर पारिश्रमिक थियो।

त्यस्तै, बसोबास र स्थानीय यातायातका लागि सरकारले छुट्टै २ लाख रुपैयाँ पनि प्रतिमहिना उपलब्ध गराउनेछ। मन्त्रिपरिषद्को साउन २ गतेको बैठकले नेपालमा क्रिकेट खेलको विकास र विस्तारका लागि योगदान दिएको भन्दै दसानायकेलाई पुनः बोलाउने र त्यसका लागि सबै आर्थिक व्ययभार मन्त्रालयले बेहोर्ने निर्णय गरेको थियो। सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा प्रशिक्षक दसानायकेले आफूलाई विश्वास गरेकोमा सरकारलाई धन्यवाद दिएका थिए। ‘नढाँटी भन्नुपर्दा क्यानडा फर्केपछि मेरो नेपाल र्फकने सोच थिएन तर खेलाडी, सञ्चार माध्यम र मन्त्रायलको कारण फर्केको हुँ,’ उनले भने, ‘नेपाली क्रिकेटलाई अझै धेरै योगदान दिनु छ, अबको ८ महिना नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण रहेको छ, त्यसमा नेपालले सफलता प्राप्त गर्ने विश्वास दिलाउँछु,’ दोस्रो औपचारिक कार्यकाल सुरु गर्नुअघि दसानायकेले भने। कान्तिपुर दैनिकमा खबर छ ।

पहिलो कार्यकालमा दसानायकेको प्रशिक्षणमा नेपाली क्रिकेट टिमले पहिलो पटक आईसीसी ट्वान्टी-ट्वान्टी विश्वकपमा सहभागिता जनाएको थियो भने वान-डे विश्वकपको छनोट पनि खेलेको थियो। त्यस्तै, विश्व क्रिकेट लिग डिभिजन- ४ र ३ मा च्याम्पियन हुनुका साथै साथै एसीसी एलिट ट्रफीमा संयुक्त विजेता पनि बनेको थियो। अब डिभिजन- ३ र २ मा सफलता दिलाउँदै अन्तरमहादेशीय कप र प्रथम श्रेणीको फोर डेमा सहभागिताको अवसर दिलाउनु उनको काम हुनेछ। युवा तथा खेलकुद मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले दसानायकेलाई दोहोरो जिम्मेवारी दिएको बताए। उनले प्रशिक्षकको अलावा नेपाली क्रिकेटको समग्र विकासका लागि सल्लाहकारको पनि जिम्मेवारी पाएका छन्। अब उनले राष्ट्रिय खेलकुद परिषद् र क्यान मार्फत दीर्घकालीन लक्ष्य र रणनीति तयार पार्नेछन् र त्यसको रिपोर्ट प्रत्येक महिना मन्त्रालयलाई दिनेछन्।

सम्झौतापछि सहसचिव पौडेलले यो सम्झौता मन्त्रालयको हकमा पहिलो र नयाँ भएको बताउँदै क्यानले कार्यविधि तयार गरेपछि उनको काम सुचारु हुने बताए। उनले सम्झौता मन्त्रालयले गरे पनि कार्यान्वयनको निकाय राखेप भएकाले त्यसै अन्तर्गत प्रशिक्षकले काम गर्ने जानकारी दिए।

राखेप सदस्यसचिव युवराज लामाले परिषद् मन्त्रालयको निर्णय अक्षरशः पालना गराउन तयार रहेको प्रतिक्रिया दिए। अहिले नेपाली क्रिकेट टिम दक्षिण कोरियाको इन्चोनमा हुने एसियाली खेलकुदको तयारीमा रहेको छ। पुरुष टिमलाई जगत टमाटा र महिला टिमलाई अरुण अर्यालले प्रशिक्षण दिइरहेका छन्। उनीहरू नै आधिकारिक प्रशिक्षकको रूपमा कोरिया गए पनि दसानायकेको भूमिका मुख्य प्रशिक्षकको हुनेछ।