शौचका लागि साँझ कुर्नु नपर्दा खुसी

भदौ १७, काठमाडौँ-भारतको उत्तरी प्रदेशस्थित एक गरिब गाउँमा आइतबार १०० भन्दा बढी नयाँ शौचालय स्थानीयवासीलाई हस्तान्तरण गरियो। यहाँका महिलाहरू खुलाक्षेत्रमा दिसा गर्न बाध्य भएका कारण सधैं आक्रमणको त्रासमा हुन्छन्।सरसफाइको क्षेत्रमा काम गर्ने संस्था सुलभ इन्टरनेसनलले चम्किलो रङ लगाइएका शौचालयहरू गाउँलेलाई हस्तान्तरण गरेको हो। गाउँलेहरूले निकै हर्ष मनाए। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा आउँदो चार वर्षमा प्रत्येक घरमा एउटा शौचालय हुने घोषणा केही साता अगाडि गरेका थिए।

भारतका हजारौं गाउँहरूमा अझै पनि महिलाहरू अँध्यारो भएपछि मात्र खेतबारीमा दिसापिसाब गर्न निस्कन्छन्। त्यति नै बेला उनीहरूले कुनियत राख्नेहरूको सिकार समेत बन्नुपर्ने खतरा रहन्छ। कटरा सआदतगन्जकी ४५ वर्षीया तथा पाँच सन्तानकी आमा प्रेमवती देवीले शौचालयले आफ्नो जीवनमा नयाँ अर्थ दिएको बताइन्। उनले अब दिसापिसाबकै लागि साँझको प्रतीक्षा गर्नु नपर्ने अवस्था भएकोमा खुसी व्यक्त गरिन्।

उनको खरले छाएको घरनजिकै नीलो र बैजनी रंग लगाइएको नयाँ शौचालय ठडिएको छ। विश्व बैंकले भारतका विशेष गरी गरिब तथा ग्रामीण क्षेत्रका करिब ५० करोड जनता खुला क्षेत्रमा दिसापिसाब गर्न बाध्य भएको अनुमान गरेको छ। यसकारण उनीहरूले अनेकौं रोगको सामना गर्नुपर्छ ।

उत्तर प्रदेशको बदायाँ जिल्लामा पर्ने कटरामा मे महिनामा दुई बालिका रूखमा झुन्डिएको अवस्थामा फेला परेका थिए। उनीहरू दिसापिसाब गर्न साँझको समयमा घरबाहिर गएको ठानिएको थियो।

२०१२ को डिसेम्बरमा एक छात्रामाथि सामूहिक बलात्कार भएपछि चर्को विरोध भएको थियो। उनीहरूलाईर् सामूहिक बलात्कार गरी झुन्ड्याइएको अनुमान गरिएको थियो। भारतको केन्द्रीय अन्वेषण ब्युरोले हालसम्म यस अपराधका लागि कसैमाथि पनि औपचारिक रूपमा अभियोग लगाएको छैन।