भाबी संबिधानको नाम ‘नेपालको संबिधान’ तय

भदौ १६,काठमाडौँ-नेपालको भाबी संबिधानको नाम ‘नेपालको संबिधान’ राख्न संबिधान सभाका सबै दल सहमत भएका छन् । आज बिहान सिहदरबारमा बसेको संबिधानसभा अन्र्तगतको संबैधानिक राजनीतिक सम्बाद तथा सहमती समितिको बैठकले दलहरुबीच यस्तो सहमती जुटाएको हो । यस अघिको बैठकमा साना दलहरुले आपत्ति जनाएपछि नाम पारित हुन सकेको थिएन ।

यस्तै बैठकले संबैधानिक परिषद पाँच सदस्यिय हुने निर्णय पनि पारित गरेको समिति सदस्य चित्रबहादुर केसीले जानकारी दिए । संवैधानिक परिषदमा कार्यकारी प्रमुख, संसदको तल्लो सदनका सभामुख,  प्रतिपक्षी दलका नेता, प्रधान न्यायधीश र एक महिला हुने छन् । परिषदमा रहने महिला राष्ट्रिय जीवनको ख्यातिप्राप्त हुनुपर्ने छ ।

त्यसै गरी राजदूत नियुक्ति समावेसी र समानुपातिक सिद्धान्तका आधारमा हुनुपर्ने पनि समितिले पारित गरेको छ । यसैगरी संसद विहिनताको अवस्था नरहने गरी नयाँ संसदको अधिवेशन सुरु भएपछि मात्र अघिल्लो संसदको कार्यकाल सकिने व्यवस्था राख्न दलहरु सहमत भएका छन ।  बैठकपछि समिति सभापति बाबुराम भट्टराइले रातदिन बैठक गरेर २१ गतेभित्र सहमति गरिने बताए ।