जनकपुर बन्द, जनजीवन प्रभावित

भदौ १६,जनकपुर -भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधीको विरोधमा आज १७ दलले जनकपुर बन्द गरेका छन् । जनकपुरका बजार, कलकारखाना, शिक्षणसंस्था र यातायात पूर्ण रुपमा ठप्प बनेको छ । एडिवी परियोजना अन्तर्गत धनुषाको फुलगामामा रहेको गुठीको जग्गामा ल्याण्डफिल साइट बनाउने तय भइसकेको बेला मन्त्री निधिले सो जग्गामा राजर्षि जनक विश्व विद्यालय बनाउने योजना ल्याएपछि परियोजनाको सम्पूर्ण कार्य अहिले रोकिएको छ ।

ल्याण्डफिल साइटका लागि नगरपालिकाले अन्य स्थान खोजिरहेको छ । प्रदर्शनकारीले मन्त्री निधि विरुद्ध नारावाजी गर्दै जनकपुरमा प्रर्दशन गरी रहेका छन् । जनकपुरको चोक चोकमा टायर बालिएको छ भने जनकपुरवाट पूर्व पश्चिम राजमार्ग जाने मुख्य मार्ग पिडारी चोकमा धर्ना बसेका छन् । जुलुसको नेतृत्व एकीकृत नेकपा माओवादीका मधेश व्युरो इन्चार्ज राम चन्द्र झा, नेकपा एमालेका केन्द्रिय सदस्य श्रीप्रसाद साह र जनकपुर नगरपालिकाका पूर्व मेयर वजरंग प्रसाद साहले गरेका छन् ।