आज सातौं राष्ट्रिय पुस्तकालय दिवस मनाइँदै

भदौ १५, काठमाडौँ-सातौँ पुस्तकालय दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदैछ । शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्थाहरुले पुस्तकालय संस्कृतिको विकासका लागि जनचेतना जगाउने उद्देश्यले मनाउन लागीएको यो बर्षको दिवसको नारा ‘पुस्तकालयको विस्तार, सभ्य समाजको आधार’ भन्ने रहेको छ ।

विसं १८६९ भदौ १५ गते राजा गीर्वाणविक्रम शाहका पालामा पुस्तक तहबिल चिताइ स्थापना गरी पं केदारनाथ झालाई जिम्मा दिइएको सम्झनामा पुस्तकालय दिवसका रुपमा मनाउन थालिएको हो ।  तर औपचारिकरुपमा भने विसं २०६५ भदौ १५ देखि पुस्तकालय दिवस मनान थालिएको  हो ।

दिवसकै अवसरमा आज सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले मुलुकका विभिन्न स्थानका पुस्तकालयहरुसँग सम्बन्धित गतिबिधी, पुस्तकालयसम्बन्धी गोष्ठी, छलफल, सरसफाइ, रक्तदान, पदयात्रालगायत कार्यक्रम गरिने छ । दुई सय वर्षको इतिहास पार गरिरहेको पुस्तकालय स्थापना कार्यले अझै पनि विस्तारित रुप लिन भने सकेको छैन ।