मोदी जापान भ्रमणमा

भाद्र १५,काठमाडौ–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समकक्षी सिन्जो अवेसँग भेट गर्न शनिबार जापान पुगेका छन्।एसियाका दोस्रो तथा तेस्रो सबैभन्दा ठूला अर्थतन्त्रबीच सम्बन्ध विस्तार गर्नेतर्फ यो भ्रमण केन्दि्रत हुनेछ। दुई दक्षिणपन्थी राष्ट्रवादी नेताहरूले निर्वाचनको बेला अर्थतन्त्रलाई पुनस्र्थापना गर्ने वचन दिएका थिए। दुवै मुलुक यस क्षेत्रमा मजबुत चीनसँगको क्षेत्रीय गठबन्धन तयार गर्न अभिरुचि देखाएका छन्। ती दुवै नेताले आ-आफ्नो मुलुकलाई युद्ध र संघर्षका मार्गमा नलगून् भन्ने सर्वत्र चिन्ता छ।

प्रस्थान गर्नुपूर्व ६३ वषर्ीय मोदीले यो पाँच दिने भ्रमणले जापानसँग रक्षा, पारमाणविक ऊर्जा तथा आधारभूत संरचनाका क्षेत्रसहित दुई पक्षीय सम्बन्धमा नयाँ अध्याय लेख्ने विश्वास व्यक्त गरेका छन्। उनले विज्ञप्तिमा भारतमा समावेशी विकासका साथै उत्पादन, आधारभूत संरचना, ऊर्जा तथा सामाजिक क्षेत्रमा सुधार गर्ने आफ्नो दृष्टिकोणलाई जापानले गर्न सक्ने सिर्जनात्मक सहयोगको खोजी गर्ने बताएका छन्। उनले भ्रमणअघि जापानी भाषामा ८ ट्वीट गरेको बीबीसीले जनाएको छ। उनी आफू अबेसँग निकै प्रभावित रहेको बताएका छन्। दुई वर्षअघि गुजरातका मुख्यमन्त्रीको रूपमा मोदी जापान गएका थिए।

भारतीय प्रधानमन्त्रीको दक्षिण एसिया बाहिरको यो पहिलो भ्रमण हुनेछ। उनले यसले परराष्ट्र तथा आर्थिक नीतिमा जापानले प्राप्त गरेको प्राथमिकता दर्साउने बताए। मोदी र आबे ऐतिहासिक नगर क्योटोमा व्यक्तिगत रूपले भेटेपछि टोकियोमा औपचारिक रूपमा वार्ता गर्नेछन्। दुवै नेता मुलुकको मन्द भएको अर्थतन्त्रलाई अगाडि बढाउन सक्ने बलिया नेताको रूपमा देखिएका छन्। दुवै मुलुक चीनसँग दुई पक्षीय क्षेत्रीय विवादमा रहेको बेला मोदीले आबेसँगको वार्तामा गहन रक्षा सम्बन्ध सिर्जना गर्न प्रयास गर्ने बताएका छन्। उनले सोमबार जापानी रक्षामन्त्री इत्सुनोरी ओनोदेरासँग भेट गर्नेछन्। एक जापानी अधिकारीले भारतले आफ्नो सेनाका लागि जमिन तथा पानी दुवैमा चलाउन सकिने खोजी तथा उद्धार विमान खरिद गर्ने चाहना देखाएको जानकारी दिए।

जापानले यसै वर्ष आफ्नो सैनिक निर्यातमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। यसले यस्तो सम्झौताको बाटो खुला गरिदिएको छ। भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री मोदीको ध्यान भारतीय उत्पादन निर्यातमा केन्दि्रत हुने जानकारी दिएको छ। उनका साथमा व्यापारी समुदायको ठूलो प्रतिनिधिमण्डल छ। उनले भारतमा आधारभूत संरचना विकासमा जापानको सहयोगको खोजी गर्नेछन्। लगातार भइरहेको दुर्घटनाका कारणले जापानका नागरिक परमाणु ऊर्जाको विरोधमा रहेकाले यस सम्बन्धमा भारतसँग उसले कुनै खाले सम्झौता गर्ने सम्भावना न्यून छ। नयाँ सरकारले भारतको नराम्रो अवस्था भएको रेलमार्गलाई तत्कालै सुधारको मार्ग आवश्यक भएको बताएको छ।

वार्तामा भारतका लागि नयाँ उच्चगतिको रेल सञ्जालको विषय पनि पर्ने अनुमान गरिएको छ। भारतले रक्षाका क्षेत्रमा विदेशी प्रत्यक्ष लगानीको सीमा बढाएको छ भने रेलमार्गमा यस्तो सीमा हटाएको छ। जापान भारतमा चौथो सबैभन्दा ठूलो लगानीकर्ता हो। दुई नेताबीच पारमाणविक ऊर्जाका विषयमा पनि छलफल हुने अनुमान गरिएको छ। दुई मुलुकले सन् २०११ मा स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेका थिए। त्यसपछि उनीहरूबीच व्यापार निकै बढेको छ।  पश्चिम जापानको क्योटोस्थित स्टेट गेस्ट हाउसमा प्रधानमन्त्री सिन्जो अबे (बायाँ) ले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीको स्वागत गर्दै। पाँच दिने भ्रमण क्रममा मोदी जापान पुगेका हुन्। आजको कान्तिपुर दैनिकमा खबर छ ।