गर्भपतन गराउन १९ हजार

भदौ १५,इलाम- दुई सन्तानमा चित्त बुझाएका इलामका एक दम्पतीलाई अर्को सन्तानको रहर थिएन। तर, भइदियो उल्टो! नचाहँदा–नचाहँदै गर्भ रहेपछि पतिपत्नीबीच सहमति भयो– सुरक्षित गर्भपतन गराउने। त्यसनिम्ति उनीहरूले भरपर्दो ठाउँ रोजे, इलाम अस्पताल। जहाँ उनीहरू दुई महिनामा लगातार चारपल्ट धाउनुपर्यो । त्यसबीच उनीहरूले झेलेको आर्थिक र मानसिक पीडा अत्यासलाग्दो छ। अस्पतालको मातृशिशु स्वास्थ्य क्लिनिकमा एक हजार रुपैया“ तिरेपछि गर्भपतन गरिन्छ। त्यो दम्पती पनि सस्तोमा भरपर्दो सेवा लिन जेठमा क्लिनिक पुग्यो, जहा“ सरकारी नर्सको ड्युटी हुन्छ। दुई महिनाको गर्भ बोकेकी महिलालाई स्वास्थ्य परीक्षण गर्नासाथै नर्सले भनिदिए, ‘बच्चा ठूलो छ, पैसा धेरै लाग्छ।’ 
गर्भपतनको निष्कर्षमा पुगेका दम्पतीले बढ्दो बच्चा पेटमा राखेर घर फर्किने सोचेनन्। सरकारी नर्सको सल्लाहबमोजिम उनीहरूले तोकेकै रकम बुझाए। नर्सहरूले ‘एक हजार इन्ट्री फी’ र ‘१८ हजार औषधिको’ भनेर १९ हजार रुपैया“ बुझे। गर्भपतन गराउने औषधि ‘दार्जिलिङबाट ल्याएकाले महँगो पर्ने’ नर्सको भनाइ थियो। समस्यामा परेका दम्पतीले ऋण काढेर पैसा बुझाए। औषधि लिएर फर्के। ‘औषधि खाएको दुई/चार दिनमै गर्भपतन हुन्छ भनेका थिए तर दुई हप्तासम्म केही भएन,’ परिचय खुलाउन नचाहने ती पतिले सुनाए, ‘नर्सले भनेजस्तो गर्भ नगएपछि १५ दिनमा फेरि अस्पताल गयौं।’ पहिल्यै १९ हजार बुझेका नर्सहरू ती दम्पती देख्नासाथ हच्किए। फेरि औषधि थमाए र उही कुरा गरे, ‘अब दुई/चार दिनमै काम हुन्छ।’ उनीहरू फर्किए। फेरि १५ दिन बित्यो, गर्भ गएन।
तेस्रोपल्ट अस्पताल पुग्दा दम्पती मानसिक तनाबमा थिए। ऋण काढेर बुझाएको पैसाको चिन्ता त छ“दै थियो। ‘तेस्रोपल्ट पनि नर्सहरुले उसै गरी औषधि दिए र चिन्ता नगर्न भने,’ खेतीपाती गर्ने पतिले भने, ‘अबचाहिँ होला भनेर फर्कियौं तर जस्ताको त्यस्तै।’ फेरि १५ दिनपछि उनीहरू मानसिक रूपमा थला परे। अस्पताल गए। उनीहरूको यो दुई महिनाबीचको चौथो अस्पताल–यात्रा थियो। कारण उही– गर्भपतन।  सामान्य अवस्थामा १२ हप्तासम्मको गर्भपतन गर्न मिल्ने भए पनि ती पत्नी गर्भ १६ हप्ता पुगिसकेको थियो। पैसा बुझेर पहिल्यै ‘काम भइहाल्छ’ भनेका नर्स फेरि झस्किए। पीडितको समस्या अस्पतालकै अरूलाई समेत थाहा नहोस् भनेर लुकाएर गर्भपतनको प्रयास थाले। ‘दुई घन्टामै गर्भ जान्छ भनेर क्लिनिकको एउटा कोठामा हुले,’ पीडितले बताइन्, ‘श्रीमान्लाई कसैले नदेख्ने गरी छतमा लुकाए।’ आजको नागरिक दैनिकमा खबर छ ।
त्यसैबीच पीडितको अवस्थाबारे अस्पतालमै गाइँगुइँ चलेपछि क्लिनिकबाट निकालेर महिलालाई अस्पतालको वार्डमा सारियो। त्यहा“ डा. प्रभु शाहको प्रयासमा उनको सुरक्षित गर्भपतन भयो। बिरामीलाई चार दिन अस्पतालमै राख्नुपर्योप। ‘नर्सहरूले १९ हजार बुझेर चार–चारपल्ट प्रयास गर्दासमेत गर्भपतन नभएको कुराले अस्पताल हल्लियो,’ पीडितले सुनाए, ‘हामीले बल्लबल्ल पैसा फिर्ता पायौं।’  नाम दर्ताबापत एक हजार लिएर सित्तैमा सेवा दिनुपर्ने अस्पतालको क्लिनिकले औषधिबापत १८ हजार बुझेको र पीडितले चारपल्ट धाउनुपरेको घटनाबारे जिल्ला जनस्वास्थ्य प्रमुख राजकुमार पोखरेल ‘उजुरी परेको’ स्विकार्छन्। तर, ‘नर्सहरूले पैसा लिएको पुष्टि हुन नसकेको’ भन्दै घटना ढाकछोप गर्न खोजेका पोखरेलले अहिले जिल्ला अस्पताल हेर्ने जिम्मेवारीसमेत आफ्नो नभएको बताए।