रगत नपाएरै गयो विरामीको ज्यान

भदौ १५,अछाम–रगत नपाउँदा रक्त अल्पताले थलिएकी बाजुरा जुगाडाकी २५ वर्षीया वसन्ती रोकायाको ज्यान गएको छ । उनलाई उपचारका लागि अस्पताल पुर्याइएपछि पनि चाहिएजति रगत नपाउँदा बचाउन नसकिएको हो । वसन्तीको चारमहिने गर्भ पनि खेर गएको छ । बिहिबार अछामको बयलपाटा अस्पताल ल्याउँदा वसन्तीको शरीरमा हेमोग्लोबिनको मात्र चार थियो । तत्काल अस्पतालका सुरक्षा गार्ड र कर्मचारीबाट दुई पोका रगत निकालेर उनलाई दिइए पनि स्वास्थ्यमा सुधार आउन सकेन । तीन सन्तानकी आमा बसन्तीलाई बचाउन पति नन्दबहादुर रोकाया र अस्पतालका स्वास्थ्यकमीले निकै प्रयास गरे । तर बसन्तीलाई आवश्यक पर्ने ‘बी’ पोजेटिभ समूहको रगत कतै भेटिएन । एकजना आफन्तको समूह मिले पनि उनले रगत दिन मानेनन् । सबैतिर धाउँदा पनि रगत नपाएपछि नन्दबहादुरले गाउँबाट बी पोजेटिभ भएको मान्छे पनि झिकाएका थिए । तर ती मान्छे बाटोमा आउँदै गर्दा अस्पतालमा शुक्रबार राति बसन्तीको ज्यान गइसकेको थियो ।आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।