भारतीय प्रम मोदी जापान भ्रमणमा

भदौ १४ , काठमाडौँ  – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी औपचारिक तथा व्यापारिक सम्बन्ध अभिवृद्धिका लागि आज जापान भ्रमणमा गएका छन् ।  भारतको प्रधानमन्त्रीमा निर्वाचित भएपछि दक्षिण एसिया बाहेकको अर्काे देशको भ्रमणका लागि पहिलो पटक जापान जान लाग्नु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उक्त भ्रमण विशेषगरी व्यापारिक साझेदारीका साथै व्यापार अभिवृद्धिमा केन्द्रित हुने बताइएको छ ।  जापान र भारतबीचको व्यापारिक सम्बन्ध विगत लामो समयदेखि नै सुमधुर रही आएको छ । जापानी प्रधानमन्त्री सिन्जो अबेपनि गत वर्ष मात्र प्रधानमन्त्री बनेका हुन् । अबेको प्रमुख एजेण्डा पनि आर्थिक विकास गर्नु रहेको छ ।यता भारतीय प्रधानमन्त्री मोदीले पनि विगत लामो समयदेखिको आर्थिक अविकासको अवस्थाबाट देशलाई मुक्त गर्ने प्रमुख योजना अघि बढाएका छन् ।

भारत र जापानबीच यसै भ्रमणका क्रममा नै व्यापारिक क्षेत्रमा महत्वपूर्ण सम्झौता हुन लागेको बताइएको छ । यी दुई देशबीच दुर्लभ खनिजको निर्यातसम्बन्धी एक विशेष सम्झौता हुने भएको र उहाँहरुबीच व्यापारिक वार्ता पनि हुने भएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।