कक्षा १२ को नतिजा सार्वजनिक, ७० प्रतिशत उत्तीर्ण

भदौ १४ , काठमाडौँ  –  उच्चमाध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को विज्ञान सङ्कायको परीक्षाफल आज सार्वजनिक गरेको छ ।  परीक्षामा ७० दशमलव ४३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । विज्ञान सङ्कायमा कुल ३६ हजार ७२७ जना परीक्षार्थीले परीक्षा दिएकामा कुल २५ हजार ८६६ जना परीक्षार्थी उत्तीर्ण भएको परिषद्का प्रवक्ता एवम् प्रशासन प्रमुख नारायण कोइरालाले जानकारी दिए ।

त्यस्तै आंशिकतर्फ भने ३८ दशमलव २१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । आंशिकतर्फ कुल छ हजार ८४२ जनाले परीक्षा दिएकामा दुई हजार ६२१ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ आठजना र आंशिकतर्फ सातजनाको परीक्षाफल रद्ध गरेको र छजनाको परीक्षाफल स्थगित गरेको छ ।

परिषद्ले अन्य सङ्कायको परीक्षाफल भने दसैँ अगाडि सार्वजनिक गर्ने तयारी गरेको कोइरालाले बताए । यस वर्ष परिषद्ले विज्ञान सङ्कायको परीक्षाफल एक महिना ढिलो गरी सार्वजनिक गरेको छ । परिषद्ले गत वैशाख १९ गतेदेखि ३० गतेसम्म सो परीक्षा सञ्चालन गरेको थियो ।