ऋषि पञ्चमी पर्व देशभर मनाइदै

भदौ १४ , काठमाडौँ – भाद्र शुक्ल पञ्चमीका दिन आज हिन्दु नारीहरुले ऋषेश्वर महादेवको पूजा गरी ऋषिपञ्चमी पर्व मनाउदैछन् । हरितालिका तीजको दिन ब्रत बसेका महिला विहानै नदी, तलाउ, धारा, पोखरी लगायत जलाशयमा नुहाएर वर्षदिनको प्रतितको रुपमा तीन सय पैसट्ठी वटा दतिवनले दाँत माझी माटो, तील र अमलाको पानीले नुहाएर चोखो लुगा लगाएर सप्तऋषिको पूजा अर्चना गर्दछन् । सप्तऋषीको पूजा गर्नाले रजदोष लगायत सबै दोषबाट मुक्ति पाइने धार्मिक विश्वास रहि आएको छ ।

सप्तऋषीको पूजा भजनकिर्तन गरी नाचगान गरेपछि तिजको ब्रत समाप्त भएको मानिन्छ । परम्परा अनुसार आजको पूजाले बर्षदिन रजस्वला हुँदा जानेर वा नजानेर अरु कसैलाई छोइएको पाप कटनी हुने विश्वास रहि आएको छ । ऋषिपञ्चमीमा अरुन्धती सहित सप्तऋषिको पुजा गरिन्छ । ऋषिपञ्चमी पूजाका निम्ति ३ सय ६० रंग, विभिन्न जातका फूल जम्मा गरिन्छ र अरुन्धर्ती सहित सप्तऋषिको परिक्रमा गर्दै पूजा गरिन्छ ।

ऋषिपञ्चमीका अवसरमा देशभरका विभिन्न ठाँउमा रहेका शिवालय, ऋषेश्वर महादेवका मन्दिरहरुका भक्तालुहरुको भिड लाग्ने गर्छ । काठमाडौंस्थित टेकुमा रहेको ऋषेश्वर महादेवको मन्दिर र पशुपति, विष्णुमति वरपरका मन्दिरहरुमा पूजाका लागि महिलाहरुको भिड लाग्ने गर्दछ ।