केपी फर्किएपछि मात्रै उच्चस्तरीय राजनीतिक समिति

भदौ १४, काठमाडौं -उच्चस्तरीय राजनीतिक समिति गठनमा दलहरु सहमतिनजिक पुगे पनि नेतृत्व र सहभागि हुने दलको विषयलाई लिएर उनीहरुबीच कुरा मिल्न सकेको छैन । शुक्रबार एमाले अध्यक्ष केपी ओली निवास भक्तपुर बालकोटमा कांग्रेस,एमाले र एमाओवादीबीच भएको छलफल निष्कर्षमा पुग्न सकेन । एमाले अध्यक्ष ओली उपचारका लागि दिल्ली जानुअगावै सहमति जुटाउने प्रयासस्वरुप दलहरु छलफल गर्न बसेका थिए । ओली एक हप्तापछि मात्र नेपाल फर्कन्छन् । उनी नफर्कदासम्म समिति गठन प्रक्रिया अघि नबढ्ने उनी निकट स्रोतले बतायो ।

‘सकारात्मक रुपमा छलफल अघि बढेको छ,’ ओलीनिकट स्रोतले भन्यो,‘उहाँ (ओली) फर्किएपछि बिस्तारै समिति गठनको कुरा अघि बढाउने भन्ने छ ।’ बैठकमा एमाओवादीले मधेसवादी दललाई पनि उच्चस्तरीय समितिमा सहभागि गराउनु पर्ने अडान राखे पनि कांग्रेस–एमाले त्यसमा सहभागि हुन सकेका छैनन् । ‘नेतृत्व र सहभागि दलको विषयमा कुरा मिलेको छैन । एमाओवादीले मधेसी दललाई पनि सहभागि गराउनु पर्ने बताएको छ,’ स्रोतले भन्यो ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।