खेलकुदमा भद्रगोल, नेताको जुधाइमा खेलाडीको मिचाइ

भदौ १४, काठमाडौं – अधिकांश खेल संघदेखि विभागीय मान्त्रालय पनि आन्तरिक र आपसी विवादमा फसेका छन् । खेलकुदको विकासका लागि सक्रिय हुनुपर्ने यी निकाय आर्थिक चलखेल, राजनीतिक स्वार्थपूर्ति र ‘जुँगाको लडाइँ’ मा लिप्त छन्, जसले गर्दा नेपाली खेलकुद क्षेत्र नै भद्रगोल बनेको छ ।नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद र त्यसलाई निर्देश गर्ने खेलकुद मन्त्रालयबीच लामो समयदेखि घम्साघम्सी चलिरहेको छ । कतिसम्म भने परिषदका सदस्यसचिव युवराज लामाले मन्त्री पुरुषोत्तम पौडेलविरुद्ध सर्वोच्च अदालतमा पाँचवटा मुद्दा दायर गरिसकेका छन् । दुबैको सम्बन्ध पानी बाराबारको रहेको नयाँ पत्रिकामा खबर छ । ‘साँढेको जुधाइमा बाछोको मिचाइ’ भनेजस्तै दुई ‘टाउके’को लडाइँमा खेलकुदको विकास गति दिनदिनै थच्चिदै छ ।

मन्त्री भएको साढे पाँच महिनापछि मात्रै पौडेलले साउन अन्तिम साता आफू अध्यक्ष रहेको खेलकुद परिषदको बैठक राख्न सके । त्यही बैठकमा पनि उनले परिषदको कार्यविधि नै मिचेर आफ्र्न नेतृत्वमा एसियाड तयारी समिति गठन गरे । कार्यविधिमा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सदस्यसचिवकै नेतृत्वमा तयारी समिति गठन गर्ने व्यवस्था छ ।

कुन कुन खेलमा कसरी भएको छ झगडा
फुटबलमा एन्फा अध्यक्ष गणेश थापा भ्रष्टाचारको मुद्दा झेलिरहेका छन्, उनी संसदीय छानबिनमा छन् भने अब उनी आफै पनि सभासद् बनेका छन् ।
क्रिकेटमा क्यानका अध्यक्ष टंक आङबोहाङसहित १० जनालाई भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
तेक्वान्दोमा संघ गठन हुँदाहुँदै युनियन पनि गठन भएको छ । दुवैलाई राष्ट्रिय अन्तर्राष्ट्रिय मान्यता छ । खेलाडी पठाउँदा पनि उनीहरुबीच झगडा हुने गरेको छ ।
त्यस्तै राष्ट्रिय खेलकुद परिषदमा नयाँ खेलकुदमन्त्री र सदस्यसचिवबीच विवाद छ । सदस्यसचिव युवराज लामाले खेलकुद मन्त्री पुरुषोत्तम पौडेल विरुद्ध पाँच मुद्दा दायर गरेका छन् ।