नेपाली भूमि मिचेर नेपालीसँगै कर उठाउँदैछ चीन

भदौ १३, संखुवासभा – चीनको सीमावर्ती किमाथाङ्का र चेपुवा गाविसका बासिन्दाले चौपाया चराउन नेपालकै भूभागमा पनि कर तिर्नुपर्ने बाध्यता छ ।नेपाल र चीनबीच अन्तिम सीमांकन हुँदा नेपाल तर्फ परेको हजारौं हेक्टर जमीन चीनले विसौं वर्षअघि आफ्नो बनाएपछि सीमावर्ती गाविसका बासिन्दाले चौपाया चराउँदा चीनलाई वाषिर्क प्रतिचौंरी ७५ रुपैयाँ र प्रतिभेडा ३० रुपैयाँ बुझाउनु परेको अन्नपूर्ण पोष्टले खबर छापेको छ ।किमाथांकाका नागरिक अगुवा तेन्छिबी भोटेले किमाथांका तर्फको एक गाउँ र ठूलो चरिचरन भूभाग चीनले हडपेको बताए । किमाथांकासँगै जोडिएको नेपाली भूभाग अहिले ‘सानो चाइना’ भनेर चिनिन्छ । चीनले नेपाली भूभाग आफ्नो भन्दै हडपेपछि कर लिन थालेको पनि उनले बताए । उनका अनुसार किमाथांकादेखि पाँचसय मीटर नजिकदेखि सुरु हुने ‘सानो चाइना’ नेपाल र चीन सीमा भनेर उल्लेख गरिएको कामुखोलादेखि करिव २ किलामीटर नेपाल तर्फ पर्छ ।

हिमालय प्रावि किमाथांकाका प्रधानाध्यापक लाचा भोटेका अनुसार सीमा मिचेपछि चीनले नयाँ स्तम्भ नै कुँदेको छ । पहिले कामुखोलातर्फको सीमा स्तम्भ हुँदाहुँदे चीनले खोलावारि सानो चाइना र किमाथांका छुट्याउन सानो खोल्सीको ढुंगामा नयाँ स्तम्भ कुदेको हो । चौंरीपालक किसानले नेपालकै भूमिमा पनि चौंरी चराउँदा कर तिर्न बाध्य हुनुपरेकेा भन्न्दै गुनासो गरेका छन् । एक सय भन्दा बढी चौरी र भेडापालक किसानले वाषिर्क १० हजार रुपैंयाँसम्म चीनलाई तिर्ने गरेका छन् ।