समिति गठन र छब्बिस सभासद् मनोनयन गर्न मोर्चाको आग्रह

भदौ १२, काठमाडौँ – उच्च स्तरीय राजनीतिक समीतिको माग गर्दै आएको एकीकृत नेकपा माओवादी  सहितकोल मोर्चाले संविधानसभा निर्वाचन भएको नौ महिना पूरा हुन लाग्दासमेत २६ सभासद्को मनोनयन नभएको भन्दै आपत्ति प्रकट गरेको छ ।

एमाओवादी अध्यक्ष दाहालको निवास लाजिम्पाटमा बसेको सङ्घीय गणतान्त्रिक मोर्चाले तत्काल २६ सभासद्को मनोनयन गरेर संविधानसभालाई पूर्णता दिन सरकारलाई आग्रहसमेत गरेको छ ।

यस्तै, सरकारमा सहभागी दलले गत पुस ९ गते भएको चारबँुदे सहमतिअनुसार उच्चस्तरीय राजनीतिक समिति गठनमा आलटाल गरेको भन्दै मोर्चा व्यवस्थापिका–संसद् चल्न नदिने पूर्व निर्णयमा कायम रहेको समेत निष्कर्ष निकालेको एमाओवादीका प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए ।

बैठकले मुलुकको पछिल्लो राजनीतिक अवस्था र सरकारमा रहेका दल संविधान निर्माणमा भन्दा पनि सरकार र सत्ता मात्रै लम्ब्याउने खेलमा लागेको भन्दै सदन र सडकबाट दबाब दिने निर्णय समेत गरेको छ ।

मोर्चाले गत मङ्गलबार सरकारमा रहेका दलहरूले पूर्व सहमति कार्यान्वयन नगरेको भन्दै २४ घण्टे चेतावनी दिएको थियो । मोर्चाले प्रमुख दलबीच गत पुस ९ गतेको चारबुँदे सहमति कार्यान्वयनमा चासो नदेखाएकामा यस्तो चेतावनी दिएको हो ।