मैत्रीपूर्ण खेलमा नेपाल बङ्गलादेशसँग पराजित

भदौ ११, काठमाडौँ –  बङ्गलादेशमा भएको यु–२३ को मैत्रीपूर्ण खेलमा नेपाल  बङ्गलादेशको राष्ट्रिय फुटबल टिमसँग पराजित भएको छ ।  बङ्गलादेशस्थित ढाकाको आर्मी रङ्गशालामा भएको सो खेलमा नेपाल बङ्गलादेशसँग शून्यका विरुद्व एक गोल ०–१ ले पराजित भएको हो । बङ्गलादेशका लागि सोहेल रानाले खेलको ६० औँ मिनेटमा गरेको गोल नै निर्णायक गोल सावित भयो ।  नेपालले खेलको विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा प्रतियोगितामा हार बेर्होन बाध्य बन्यो ।

दक्षिण कोरियाको इचोन सहरमा हुने १७ औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) को अभ्यास खेलका लागि बङ्गलादेशले मैत्रीपूर्ण खेलको आयोजना गरेको हो । असोज ३ गते देखि १८ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल भदौ २९ गते इराकसँग खेल्दै उद्घाटन गर्नेछ । उक्त प्रतियोगिताको विधिवतरूपमा उद्घाटन खेल ३ गतेदेखि सुरुवात भएता पनि फुटबल भने यही भदौ २९ गतेदेखि नै सञ्चालन हुनेछ ।

त्यस्तै नेपालले दोस्रो खेल असोज १ गते कुवेतसँग प्रतिस्पर्धा गर्नेछ भने तेस्रो तथा छनोट चरणको अन्तिम खेल ५ गते जापानसँग खेल्नेछ ।  नेपालले १६ वर्षपछि पहिलोपटक एसियाडमा सहभागिता जनाउन लागेको हो । यसअघि नेपाले सन् १९९८ सम्मको यसियाडमा सहभागिता जनाएको थियो । उक्त प्रतियोगिताको फुटबलमा २९ राष्ट्रको सहभागिता रहनेछ ।