ग्रान्डस्लाम टेनिसमा शीर्ष खेलाडीहरुको विजयी सूरुवात

भदौ ११, काठमाडौँ – वर्षको अन्तिम ग्रान्डस्लाम टेनिस प्रतियोगिता युएस ओपन सुरु भएको छ । अमेरिकाको फ्लसिङ मिडोजमा आयोजित प्रतियोगितामा शीर्ष वरीयताका खेलाडीहरुले ठोस सुरुवात गरेका छन् । तेस्रो वरीयताका स्वीस खेलाडी स्टानिस्लास वावरिङ्का, पाँचौं वरीयताका क्यानेडियन खेलाडी राओनिक, आठौं वरीयताका ब्रिटिस खेलाडी एन्डी मरे र नवौ वरीयताका फ्रेन्च खेलाडी जो वेल्फ्रेड सोंगा दोस्रो चरणमा पुगेका छन् ।

वावरिङ्काले चेक खेलाडी जिरि वेसेलीलाई ६–२, ७–६ र ७–६ को सोझो सेटमा पराजित गरे । पाँचौं वरीयताका राओनिकले जापानिज खेलाडी तारो डानियललाई ६–३, ६–२ र ७–६ ले हराए । त्यसैगरी, मरेले डच खेलाडी रविन हासलाई ६–३, ७–६, १–६ र ७–५ ले पराजित गरे । सोंगाले पनि अर्जेन्टाइन खेलाडी हुँवा मोनाकोलाई ६–३, ४–६, ७–६ र ६–१ ले जिते ।

महिलातर्फ दोस्रो वरीयताकी रोमानियन खेलाडी सिमोना हालेपले घरेलु खेलाडी डी रोज कलिन्सलाई ६–७, ६–१ र ६–२ ले हराइन् । त्यसैगरी, चौथो वरीयताकी पोलिस खेलाडी आग्नेस्का रड्वान्स्काले क्यानेडियन खेलाडी शारोन फिच्म्यानलाई ६–१ र ६–० को सोझो सेटमा पराजित गरिन् ।

पाँचौं वरीयताकी रसियन खेलाडी मारिया सारापोभाले आफ्नै राष्ट्रकी मारिया किरिलेन्कोलाई ६–४ र ६–० ले हराउँदा छैटौं वरीयताकी जर्मन खेलाडी एन्क्वेलिक केर्बरले रसियन खेलाडी सेनिया पेर्भकलाई ६–२, ३–६ र ७–५ ले हराइन् । नवौं वरीयताकी सर्वियन खेलाडी येलेना यान्कोभिचले आफ्नै राष्ट्रकी बोयाना योभानोस्कीलार्य ६–२ र ६–३ ले, दशौं वरीयताकी डेनिस खेलाडी क्यारोलिन वोेज्नियाकी र उन्नाइसौं वरीयताकी घरेलु खेलाडी भेनस विलियम्स पनि दोस्रो चरणमा पुगेका छन् ।