सहमति कार्यान्वयन गर्न मोर्चाको दबाब

भदौ १०, काठमाडौँ-व्यवस्थापिका संसद्म प्रतिपक्षमा रहेका एकीकृत नेकपा माओवादी  लगायत विभिन्न सात राजनीतिक दलले विगतमा भएको सहमति कार्यान्वयन गर्न २४ घन्टे चेतावनी दिएका छन् । संविधानसभाको दोस्रो निर्वाचनपछि प्रमुख राजनीतिक दलबीच भएको चारबुँदे सहमति कार्यान्वयन गर्न सत्तारुढ दल क्रियाशील नभएको भन्दै सङ्घीय गणतान्त्रिक मोर्चामा आबद्ध ती दलको आज बसेको बैठकले चेतावनी दिएको हो ।

प्रमुख राजनीतिक दलबीच गत पुस ९ गते भएको चारबुँदे सहमतिमा संविधानसभा निर्वाचनका सम्बन्धमा उठेका प्रश्नको अध्ययन–अनुसन्धान गर्न व्यवस्थापिका–संसद्मा समिति गठन गर्ने तथा शान्ति प्रक्रिया र संविधान निर्माणमा सहयोग पुर्याउन प्रमुख राजनीतिक दलका शीर्ष नेता रहने समिति गठन गर्ने सहमति भएको थियो ।

प्रमुख दलबीच बाह्रबुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधानको मूल मर्म र भावनाबमोजिम संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको मस्यौदा छ महिनाभित्र तयार गरी एक वर्षभित्र संविधान जारी गर्ने तथा बेपत्ता नागरिक खोजबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग यथाशीघ्र गठन गर्ने पनि सो सहमतिमा उल्लेख थियो ।

‘सरकारमा रहेका दलले सो सहमति कार्यान्वयन गर्न अटेर गरेका कारण’ मोर्चाको आजको बैठकले सत्तारुढ दलको धारणा सार्वजनिक गर्न माग गर्दै चेतावनी दिएको एमाओवादीका प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए ।

संविधानसभा निर्वाचनको सम्बन्धमा विभिन्न प्रश्न उठेको सन्दर्भमा दलबीच सहमति भएपछि मात्रै मोर्चामा सहभागी दल र संविधानसभामा रहेका अन्य दल संविधानसभामा सहभागी हुन सहमत भएको प्रसङ्ग जोड्दै एमाओवादी शर्माले सत्तामा रहेका दलहरू सो सहमति कार्यान्वयन गर्न तयार नदेखिएको र पछिल्लो दिनको घटनाक्रमले सोही कुराको पुष्टि गरेकाले मोर्चाले २४ घन्टाभित्र सो सहमति कार्यान्वयन गर्न आग्रह गरेको बताए ।