संसद् रोक्ने प्रमुख प्रतिपक्षको चेतावनी

 भदौ १०, काठमाडौँ – एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चारबुँदे सहमति कार्यान्वयन नभए मंगलबारदेखि संसद् अवरोध गर्ने चेतावनी दिएका छन् । बालुवाटारमा सोमबार साँझ भएको भेटमा प्रधानमन्त्री सुशील कोइरालाले लचिलो हुन आग्रह गर्दै एमालेसँग छलफल गरेर निकास खोज्ने आश्वासन दिएका छन् ।

भेटमा एमाओवादी अध्यक्ष प्रचण्डले चारबुँदे सहमति कार्यान्वयन नभए मंगलबारदेखि संसद् बैठक अवरोध हुने र त्यसपछि पनि कार्यान्वयन नभए सडकमा जाने चेतावनी दिएका थिए । ‘चारबुँदे सहमति कार्यान्वयन नभए भोलि ९मंगलबार०देखि सदन अवरोध गर्छौँ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै उनका स्वकीय सचिव तथा एमाओवादी केन्द्रीय सदस्य चूडामणि खड्काले भने ।

यसअघि आइतबार भएको तीनदलीय बैठक कांग्रेस, एमाले चारबुँदे सहमति कार्यान्वयन गर्न तयार नभएको भन्दै एमाओवादीले बहिष्कार गरेको थियो । सत्तारुढ दुवै दल सहमति कार्यान्वयनमा इमानदार नभएको र कार्यान्वयनको प्रतिबद्धता नजनाएसम्म वार्ता नगर्ने एमाओवादीले जनाएको थियो ।

विगतका सहमति कार्यान्वयन नभए देश गम्भीर दुर्घटनामा पर्ने पनि प्रचण्डले बताएका छन् । ‘चारबुँदे सहमति कार्यान्वयन नगर्नु भनेको संविधान नबनाउनु हो,’ कोइरालासँगको भेटमा प्रचण्डले भने, ‘शान्तिप्रक्रियाका थुपै्र काम छन्, त्यो पनि पूरा नगर्नु हो ।’ कांग्रेस र एमालेभित्र यथास्थितिवादी शक्ति हाबी भएकाले सहमति कार्यान्वयनमा समस्या भएको उनको भनाइ थियो ।

प्रधानमन्त्री कोइरालाले भने लचिलो भएर प्रस्तुत भइदिन प्रचण्डलाई आग्रह गरेका थिए । सहमति कार्यान्वयन गर्ने विषयमा मंगलबार एमालेसँग छलफल गर्ने पनि उनले जानकारी गराएका थिए । कांग्रेस, एमाले, एमाओवादी र मधेसी दलबीच गत वर्ष ९ पुसमा चारबुँदे सहमति भएको थियो ।आजको नयाँ पत्रिकामा खबर छ ।