विवादित विषयमा सत्तारुढबीच साझा धारणा बनाइने

 भदौ ९, काठमाडौँ – संविधानका विवादित विषयमा सत्तारुढ दलहरूबीच समान धारणा बनाएर अरु दलहरुसँग पनि छलफल गर्ने सहमति सत्ता साझेदार दलहरुले गरेका छन् । सरकार सञ्चालनमा देखिएका कठिनाइ हटाउँदै संविधानका विवादित विषयमा समान धारणा बनाएर सहमति जुटाउने विषयमा छलफल गर्न सत्तारुढ चार दलबीच आज बिहान छलफल भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेपाली काङ्ग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा मालेका शीर्ष नेताहरूको सहभागिता थियो । बैठकपछि काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सरकार सञ्चालनमा भएका समस्याका सम्बन्धमा सहमतिका आधारमा सल्लाह गरेर अघि बढ्ने र संविधानका विवादित विषयमा पनि एकरूपता कायम गर्नेबारेमा छलफल भएको जानकारी दिए । एमाले उपाध्यक्ष विद्या भण्डारीले सत्तारुढ दलहरूबीच संविधान निर्माणको सन्दर्भमा संवादले तीव्रता पाएकाले संविधान निर्माणलाई नै प्राथमिकता दिएर छलफल भएको बताइन् ।