संयन्त्र गठन गर्ने विवादले त्रिपक्षीय बैठक निष्कर्षविहीन

भदौ ८, काठमाडौँ  –  शिर्ष  तीन  दल नेपाली काँग्रेस, नेकपा एमाले र एमाओवादीको बैठक उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विवादले निष्कर्षविहीन बनेको छ ।

 प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको तीन दलको बैठक संविधान निर्माणलगायत यसअघि थाती रहेको विभिन्न नियुक्ति र सरकारका कामकारबाहीका सम्बन्धमा नजिक पुगे पनि राजनीतिक संयन्त्र गठन गर्ने विषयले निष्कर्षविहीन बनेको स्रोतले जनाएको  छ ।

बैठकमा समयमै संविधान निर्माण गर्न विवादित विषयमा तीन दलको समान धारणा बन्न लागेको बेला एमाओवादीले राजनीतिक संयन्त्र गठन हुनुपर्ने अनावश्यक विषय तेर्साएर बैठकबाट बाहिरिएको सरकारका प्रवक्ता तथा संचारमन्त्री डा मिनेन्द्र रिजालले इमेल खबरलाई बताए ।

बैठकमा सत्य, निरुपण तथा मेलमिलाप र बेपत्ता खोजबिन आयोग छिट्टै गठन गर्ने, शासकीय र सङ्घीय स्वरुप, निर्वाचन र न्यायप्रणालीलगायत विषयमा सहमति नजिक पुगी काँग्रेस एमालेले नेकपा–माओवादी र अन्य दलसमेतको सहमतिमा निष्कर्षमा पुग्ने धारणा राखेका थिए ।

सोही बेला एमाओवादीले विगतको सहमतिअनुसार उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने माग गरेपछि सत्तारुढ दलहरुले एमाओवादीकै नेतृत्वमा राजनीतिक सहमति तथा संवाद समिति निर्माण भई काम गरिरहेकाले संयन्त्रको औचित्यमाथि प्रश्न गरेको उपसभापति पौडेलले बताए ।

बैठकमा संविधान निर्माण अघि बढिरहेको परिस्थितिमा एमाओवादीले आफ्नो नेतृत्वमा गठन गरेको सङ्घीय गणतान्त्रिक मोर्चाका कामकारबाहीका सम्बन्धमा समेत सत्तारुढ दलले आलोचना गरेका थिए । सत्तारुढ काँग्रेस र एमालेको बैठक आजै साँझ ५ बजे बालुवाटारमा बसी सहमति खोजिने बताइएको छ ।