एमाओवादीमा विशेष महाधिवेशनको तयारी

भदौं ७, काठमाडौँ  – पार्टीभित्र देखा परेको राजनीतिक वैचारिक र संगठनात्मक विवाद टुंग्याउन एकीकृत माओवादीले विशेष महाधिवेशनमा जाने तयारी गरेको छ ।   एकीकृत माओवादीको शुक्रबार बसेको वैचारिक बहस व्यवस्थापन समिति र स्थायी समिति तहका नेताहरुको संयुक्त बैठकले विशेष महाधिवेशनमा जाने निर्णय लिन असोज १ मा केन्द्रीय समिति बैठक बोलाएको छ । एकीकृत माओवादीका सचिव तथा विवाद समाधान गर्न गठित कार्यदलका संयोजक वर्षमान पुन अनन्तले पार्टीलाई एकतावद्ध बनाएर लैजान विशेष महाधिवेशनमा जाने टुंगोमा पुगिएको बताए ।

‘समग्र वैचारिक–राजनीतिक र संगठनात्मक समस्या हल गर्ने र रुपान्तरण भएर जाने गरी विशेष महाधिवेशनमा जाने निर्णय गरेका छौं,’ बैठकपछि अनन्तले भने, ‘यो एकता प्रक्रियाबाट अगाडि बढ्ने ठोस कदम हो ।’  गत बैसाखमा विराटनगरमा एकीकृत माओवादीको राष्ट्रिय सम्मेलन भएको थियो । तर, पार्टीभित्रको विवादले समस्या उत्पन्न गरेपछि असन्तुष्ट नेता डा।बाबुराम भट्टराईको मागलाई समेत सम्बोधन गर्नेगरी एमाओवादीले विशेष महाधिबेशनमा जाने निर्णय गरेको हो ।

विराटगनर राष्ट्रिय सम्मेलनको ठाउँमा विशेष महाधिबेशन गर्नुपर्ने भट्टराईको माग थियो । एमाओवादी प्रवक्ता दीनानाथ शर्माले पछिल्लो निर्णय पार्टी एकताका लागि महत्वपूर्ण कदम भएको बताए । रुपान्तरण सहित एकता बनाएर लैजाने सहमति भएको उनले जानकारी दिए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।