न्युजिल्यान्डका भेडा जुम्लामा भित्रिँदै

भदौ ६,  जुम्ला -भेडा तथा बाख्रा अनुसन्धान कार्यक्रमअन्तर्गत जुम्लामा एक साताभित्रै दुई जातका २६ वटा भेडा भित्रिने भएका छन् । कुपोर्थ र रोम्नी मार्स जातका २६ वटा भेडा काठमाडौँ ल्याइसकेको र दुई चार दिनपछि जुम्लामा ल्याइने भेडा तथा बाख्रा कार्यक्रम गुठीचौर जुम्लाका संयोजक लुमानिधि पाण्डेले जानकारी दिए ।

ती जातको भेडाको मुख्य विशेषता भनेको तिनीहरूको ऊनबाट आफ्नै देशमा कच्चा पदार्थ उत्पादन गरी त्यसबाट विशेषगरी कार्पेट बन्ने गरेको संयोजक पाण्डेले जनाए । गत आवमै नेपाल सरकारले विनियोजन गरेको बजेटबाट जुम्लाका लागि २६ र नुवाकोट जिल्लाको पानसय खोला भेडाफार्मको लागि २६ वटा भेडा खरिद गरी नेपाल ल्याइएको हो ।

नेपालले विश्व व्यापार सङ्गठनमा कुनै पनि देशले आफ्नो देशमा आठ प्रतिशत कच्चा पदार्थ उत्पादन गर्नुपर्ने विषयमा सम्झौता गरेपनि अहिलेसम्म त्यसो गर्न नसकेको बताउँदै संयोजक पाण्डेले यो जातका भेडाले केही हदसम्म त्यसमा टेवा पु-याउने बताए । करिब चार वर्षको प्रयासपछि न्युजिल्यान्डबाट जुम्लामा भेडा भित्र्याउन सफल भइएको संयोजक पाण्डेले अवगत गराए ।