नेपाली क्रिकेट टोली स्वदेश फिर्ता / प्रमद्धारा बधाई ज्ञापन

भदौ ५, काठमाडौँ -एसिसी यु–१६ प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधिका साथ नेपाली क्रिकेट टोली आज स्वदेश फर्किएको छ ।     टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामा, नेपाल क्रिकेट सङ्घ ९क्यान०का पदाधिकारीलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् । नेपालले उक्त उमेरसमूहको प्रतियोगितामा पहिलोपटक उपाधि चुमेको हो ।

यसअघि सन् २०१० र २०१२ मा भएको एसिसी यु–१६ एलाइट कप क्रिकेट प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो । उक्त प्रतियोगितामा पाँच खेल खेलेको नेपालले पाँचै खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । नेपालले पहिलो खेल थाइल्यान्डलाई १० विकेट, दोस्रो खेल सिङ्गापुरलाई ४९ रन, तेस्रो खेल ओमनलाई १०२ रन, चौथो खेल बहराइनलाई १८६ रन र पाँचौँ तथा अन्तिम खेल मलेसियालाई ३२ रनले पराजित गरेको थियो ।

यसैबिच प्रधानमन्त्री सुशील कोइरालाले एसियाली क्रिकेट काउन्सिलअन्तर्गत मलेसियामा सम्पन्न १६ वर्षमुनि उमेर समूहको क्रिकेट खेलमा अपराजित यात्रा कायम राखी विजेता बन्न सफल भएकामा नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।     प्रधानमन्त्री कोइरालाले आफूले खेलेका सबै खेलमा प्रतिस्पर्धी टीमलाई फराकिलो अन्तरले पराजित गर्नु निकै गौरवको विषय भएको जारी विज्ञप्तीमा उल्लेख गरिएको  छ । कोइरालाले नेपाली क्रिकेट टीमले विदेशी भूमिमा भएको अन्तर्राष्ट्रिय खेलमा यस्तो कीर्तिमान कायम गरेर मुलुकको प्रतिष्ठा अभिवृद्धि गरेको उल्लेख गरेका छन् ।