नेपाली घरेलु कामदार पठाउन मलेसियाको आग्रह

भदौ ५, काठमाडौँ – नेपाल भ्रमणमा रहेका मलेसियाका मानव संसाधनमन्त्री दातुक रिचार्ड रियट जइमले नेपालबाट साधारण कामदार जस्तै घरेलु कामदार पनि पठाउन नेपालसँग आग्रह गरेका छन् ।     दुई दिने नेपाल भ्रमणको क्रममा हिजो  नेपाल आएका मन्त्री जइमले आज नेपालका श्रम राज्यमन्त्री टेकबहादुर गुरुङसँगको भेटमा नेपालबाट घरेलु कामदार लैजाने वातावरण निर्माणका लागि सहयोग गर्न आग्रह गरेका हुन् ।

भेटपछि मन्त्री गुरुङले मलेसीयाले हाउसमेड भन्दा माथिको पद ‘हाउस म्यानेज’ मा नेपाली कामदार लैजान माग गरेको जानकारी दिए । सो अवसरमा मलेसिया र नेपालबीच घरेलु कामदार र सामान्य कामदार लैजाने विषयमा समझदारीपत्र (एमओयु) बनाउने सहमति भएको छ, त्यसका लागि दुवै देशका श्रममन्त्रालयका सहसचिवको नेतृत्वमा कार्यदल गठन गरिनेछ ।

मलेसियाले अन्य मुलुकसँग पनि घरेलु कामदार पठाउनेबारेको सम्झौतामा हस्ताक्षर गरेकाले ती सम्झौता अध्ययनका लागि नेपाललाई पठाउने र त्यसमा दुवै पक्षले थप छलफल गरी सम्झौतालाई अन्तिम टुङ्गो लगाउने सहमति आजको भेटवार्तामा भएको छ ।     भेटमा नेपाली पक्षले नेपाली कामदारहरुलाई मलेसियामा जाँदा लाग्ने दस्तुर कम गर्नसमेत आग्रह गरेको थियो ।