कानुन विपरित मैले भनेको पनि नमान्नुस् – प्रम

भदौ ४, काठमाडौँ – प्रधानमन्त्री सुशील कोइरालाले कानुन विपरितका काम आफूले भनेकै भएपनि नगर्न सरकारका सचिवहरुलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित आफ्नो कार्यालयमा आज सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री कोइरालाले कर्मचारीतन्त्रले कुनै पनि दलको प्रतिनिधि नबनी स्वतन्त्र भएर जनताका पक्ष काम गर्न र राष्टको सच्चा पहरेदार भएर लाग्नुपर्ने बताए । प्रम कोइरालाले सरकार परिवर्तनसँगै कर्मचारीतन्त्रमा परिवर्तन गर्ने परिपाटीलाई हटाउनुपर्ने सुझाव दिँदै सचिवहरुलाई कसैको दबाबमा नपरी आफ्नो विवेक प्रयोग गरेर काम गर्न निर्देशन दिए । सरकारी निकायमा बिल बढाएर अनियमितता गर्ने प्रवृति निकै फस्टाएको गुनासो गर्दै प्रधानमन्त्री कोइरालाले सचिवहरुलाई त्यसतर्फ सचेत भई कडा अनुगमन गर्न आग्रह गरे । उनले सचिवहरुलाई आफ्नो दशौँ वर्ष लामो सरकारी सेवाको अनुभव सिर्जनशील कार्यमा उपयोग गरी सुशासन कायम गर्न र  मुलुकलाई समृद्धिततर्फ डोर्याउन निर्देशन दिएका छन् ।     भ्रष्टाचार र अनियमितता न्यूनीकरणका लागि हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्दैआएका कामको सराहना गर्दै प्रधानमन्त्री कोइरालाले सम्पूर्ण निकायले आफ्नो कार्य प्रभावकारी रुपमा गरे मुलुकमा ८÷१० वर्षमै कायापलट हुने दाबी गरेका छन् ।