वर्षेनी १८ अर्बको तरकारी खपत गर्छन् उपत्यकावासी

भदौ ३, काठमाडौं – ४० लाखको संख्यामा रहेका उपत्यकाबासीको भान्सामा पुर्‍याउन १ वर्षमा मात्रै करिब १८ अर्बको तरकारी भित्रिएको छ । मुलुककै मुख्य तरकारी बजार कालीमाटीले मात्रै १० अर्ब ८१ करोड रुपैयाँका तरकारीजन्य उत्पादन भित्र्याएको छ ।

बाँकी कालीमाटीबाहेक अन्य तरकारी बजार गएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार ०७० मा त्यहाँ २ लाख २० हजार मेट्रिक टन तरकारी भित्रिएको छ ।

दशकअघि उपत्यका भित्रिने अधिकांश तरकारी कालीमाटीमा मात्रै आउने गरेकोमा अहिले कलंकी, बल्खु, बानेश्वर, बालाजु, लगनखेल, टुकुचालगायत बजारले पनि स्रोतकेन्द्रबाट सिधै तरकारी खरिद गर्ने क्रम बढेको व्यवसायीले बताएको कारोबारमा खबर छ ।

यिनै बजारका कारण पछिल्लो आधा दशकमा कालीमाटी भित्रने तरकारीको मात्रा २५ प्रतिशतसम्म घटेको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघले जनाएको छ ।

महासंघ अध्यक्ष खोमप्रसाद घिमिरे कालीमाटी केन्द्रीय बजार भए पनि अन्य बजार विस्तारपछि उपत्यकामा खपत हुने तरकारीको हिस्सा बाँडिएको बताउँछन् ।