भारतमा इबोला नभेटीएपछी नेपाल ढुक्क

३ भदौ, काठमाडौं – अफ्रिकी मुलुक नाइजेरियाबाट भारत आएका व्यक्तिमा शंका गरिएको इबोला भाइरस संक्रमणको परीक्षण नतिजा नकारात्मक आएको छ ।

भारतको पुणेस्थित नेसनल भइरोलोजी इन्ष्टिच्युटमा दोस्रो परीक्षण गर्दा ती व्यक्तिमा इवोलाको संक्रमण नभेटिएको हो । यसअघि नेशनल सेन्टर फर डिजिज कन्ट्रोलमा परीक्षण गर्दा संक्रमणको शंका गरिएपछि थप ६ घन्टा लामो परीक्षण गर्नु परेको थियो । नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा। लिङ अङले भारतको इबोला संक्रमण परीक्षण नकारात्मक आएको जानकारी दिए ।

भारतमा इबोला भाइरसको संक्रमण भेटिए त्यसको प्रत्यक्ष वा अप्रत्यक्ष असर छिमेकी मुलक नेपालमा पनि पर्दछ । भारतमा इबोला शंका गरिएका व्यक्तिको प्रशिक्षणबाट इबोला नभेटिएपछि नेपाल केही ढुक्क भएको छ ।

आजको अन्नपुर्ण पोष्ट दैनिकका अनुसार नाइजेरियाबाट नयाँ दिल्ली आएका तीनजनामा इबोला संक्रमण भएको हल्ला चलेपछि नेपालमा पनि चासो बढेकाले सोमबार दिनभरजसो नेपाली सञ्चारमाध्यममा यसले स्थान पाएको थियो । दक्षिण एसियामा हालसम्म इबोलाको संक्रमण देखिएको छैन ।