पार्टीभित्रको विवादको छिट्टै निकास हुन्छ : प्रचण्ड

भदौ २, काठमाडौँ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आन्तरिक विवादलाई समाधान गरेर संविधान निर्माणमा केन्द्रित हुन पार्टीका सबै तह र तप्कालाई आग्रह गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित ‘दश वर्षे जनयुद्धका सहिद, बेपत्ता तथा घाइतेको स्मृतिमा निर्माण गरिएको स्तम्भ अनावरण तथा सहिद रामवृक्ष यादवको २०औँ स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले पार्टीभित्रको विवाद समाधान हुने बताएका हुन् । र त्यसको लागि पहल भइरहेको उनको दाबी  छ ।

विचार तथा राजनीतिक विषयमा पार्टीभित्र विचारविमर्श हुँदा त्यसलाई नकारात्मकरुपमा लिने र उत्तेजित हुने कामले कोही कसैको पनि हित नगर्ने भन्दै उहाँले सहिद, बेपत्ता तथा घाइते परिवारलाई सम्झेर पार्टीलाई एकताबद्ध बनाउन सबैको उत्तिकै पहल र प्रयत्न हुनुपर्नेमा जोड दिए ।

जनयुद्ध, जनआन्दोलन र विभिन्न सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न पनि आगामी माघभित्र जनपक्षीय संविधान निर्माण गर्न सबै दल संवेदनशील भएर लाग्नुपर्ने उनको  भनाइ थियो ।

क्रान्तिकारी शक्तिका लागि हरेक समय चुनौतीपूर्ण र सङ्कटग्रस्त नै हुने गरेको प्रसङ्ग जोड्दै उहाँले अप्ठ्यारो समयमा नआत्तिन र सहज समयमा नमात्तिन समेत आग्रह गरे ।