‘कोहिनुर’ हेरेर श्रद्धा दर्शाउनेको भीड

भदौ २, काठमाडौँ – स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठद्वारा निर्मित तथा अभिनित अन्तिम चलचित्र ‘कोहिनुर’ अहिले दोस्रो सातामा चल्दैछ । प्रायः पछिल्ला नेपाली सिनेमा हप्तादिनमै सिनेमाघरबाट उत्रनुपर्ने बाध्यताबीच कोहिनुर हेर्न भने दर्शकको भीड लागेको छ ।  जीवनका बीसौँ वर्ष नेपाली सिनेमालाई दिएका अभिनेता श्रेष्ठको अप्रत्यासित निधनले सबैलाई स्तब्धमात्रै पारेन एकपटक सिनेमा हेर्न सिनेमाघरसम्म जान बाध्यसमेत तुल्यायो । सिनेमा हेर्ने दर्शकको भीड दिनदिनै बढ्नुले उहाँप्रति नेपाली दर्शकको सम्मान र सहानुभूति दर्शाएको प्रष्ट हुन्छ ।

 के बालबच्चा, के वृद्धवृद्धा सबै उमेर र पेसा व्यवसायका दर्शक कोहिनुर हेर्न आएको कालीगण्डकी चलचित्र मन्दिर बागलुङका सञ्चालक नवीन खड्काले बताउनुभयो । चलचित्र लागेको दुईदिनमै निधन हुनुभएका अभिनेता श्रेष्ठ र उहाँकी धर्मपत्नी श्वेता खड्काको मुख्य अभिनय रहेको कोहिनुर हेर्न आउने दर्शकले दैनिक चलचित्रघर भरिभराउ हुने गरेको सञ्चालक खड्काको भनाइ छ ।     शनिबार त भीड नियन्त्रण गर्न प्रहरी नै परिचालन गर्नुपरेको थियो । सडकदेखि प्रवेशद्वारसम्म दर्शक टिकटका लागि लाममा लागेको देखिन्थे । टिकट सकिएपछि दर्शक फर्काउनुपर्नेसमेत अवस्था आएको सञ्चालक खड्काले बताए ।

चेलीबेटी बेचबिखनको कथालाई उतारिएको यस चलचित्रमा अभिनेता श्रेष्ठ र अभिनेत्री खड्काले सशक्त अभिनय गरेका छन् । चलचित्र पनि राम्रो बनेको रहेछ, त्यसमाथि चलचित्रकै नायकको निधनका बेला लागेको भएर दर्शक पनि धेरै कमायो,” चलचित्र हेरेपछि बागलुङका पत्रकार दिल शिरीषले बताउनुभयो । उहाँले दर्शकले चलचित्र हेरेर स्वर्गीय नायकप्रति श्रद्धा देखाएको उल्लेख गरे । अर्कातिर श्रेष्ठको परिवारले भागेको बियोगान्त अवस्थाप्रति समवेदना प्रकट गर्न आफूहरू चलचित्र हेर्न आएको दर्शकले बताएका छन् ।

अझै केही दिनसम्म चलचित्र हेर्ने दर्शकको भीड बढ्ने देखिएको छ । सार्वजनिक बिदाका दिन धेरै परेकाले पनि यो समय दर्शकको चाप झन् बढ्न गएको देखिन्छ । “एक त चलचित्रको कथा नै मर्मस्पर्शी छ, त्यहीमाथि नायकको निधन सम्झँदा मन भरिएर आउँछ,” चलचित्र हेरेपछि रेणू केसीले भन्नुभयो – “श्रीकृष्णलाई सम्झँदै चलचित्र हेरियो, मन खिन्न पनि भयो, कताकता ।”     श्रीकृष्णको निधनका वरिपरि भएका घटना कतिपय चलचित्रका दृश्यसँग पनि मिल्दाजुल्दा भएको केसीले बताउनुभयो ।

नायक श्रेष्ठको गत साउन २५ गते उपचारको क्रममा भारतको नयाँदिल्लीमा निधन भएको थियो । उहाँको निधन हुनुभन्दा दुईदिनअघि चलचित्र देशभर प्रदर्शनमा आएको थियो ।      श्रेष्ठले मृत्युशय्याबाट आफू निको भएपछि दर्शकसँगै बसेर कोहिनुर हेर्ने चाहना रहेको बताउनुभएको थियो । तर, अभिनेता श्रेष्ठको त्यो सपना त पूरा भएन तर उहाँद्वारा अभिनित चलचित्र हेर्न आज लाखौँ नेपाली दर्शकहरू चलचित्रघरसम्म पुगेका छन् ।