संसदको बैठक एक साताका लागि स्थगित

भदौ २, काठमाडौँ – एकीकृत माओवादी लगायतका प्रतिपक्षी दलहरुको बिरोधका कारण व्यवस्थापिका संसदको बैठक एक साताका लागि स्थगित भएको छ । बाढी र डुबान प्रभावित क्षेत्रमा नागरिकसँग साक्षात्कार गर्नका लागि सभासदहरुलाई जिल्ला जान दिनुपर्नेभन्दै प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीले गरेको माग अनुसार यही भदौ ९ गतेसम्मका लागि संसद बैठक स्थगित गरिएको हो ।

संविधानसभा भवन नयाँ बानेश्वरमा आज बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठकमा सरकार बिभिन्न २४ जिल्लामा राष्ट्रिय बिपद्ग्रस्त क्षेत्र घोषणा गर्न सहमत भएको छ । आजको संसद बैठकको सुरुमा बोल्दै प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभरमा बाढी, पहिरो र डुबानका कारण संयौं नागरिकको मृत्यु भएको, बेपत्ता भएका नागरिकको बारेमा कुनै खबर नभएको र राहत तथा क्षतिपूतिृ दिन सरकार असफल भएकोभन्दै राष्ट्रिय बिपद्को घोषणा गर्न माग गरेका थिए ।

राष्ट्रिय बिपद् घोषणा गर्नुपर्ने आफूहरुको  माग पूरा नभएसम्म संसद बैठक चल्न नदिनेभन्दै एकीकृत माओवादी लगायत प्रतिपक्षी दलका सभासदहरुले आआफ्नो स्थानबाट उठेर बिरोध जनाएका थिए । लगत्तै सभामुख सुबास नेम्वाङले बैठक आधा घण्टाका लागि स्थगित गर्नु भएको थियो । बैठक स्थगित भएपछि प्रमुख दलका शीर्ष नेताहरुको बैठक बसेको थियो ।