प्रम कोइराला र अध्यक्ष दाहालबीच भेटवार्ता

भदौ २, काठमाडौँ – प्रधानमन्त्री सुशील कोइराला र एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको भेटवार्तामा उनीहरुबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान निर्माणलगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए ।

संविधान निर्माणमा देखिएका जटिलतालाई आपसी विश्वासका आधारमा टुङ्गो लगाउने र आपसी छलफल तथा वार्तालाई सघन बनाउने विषयमा दुई नेताबीच कुराकानी भएको बताइएको छ ।

सशस्त्र द्वन्द्वका क्रममा सहिद भएका, बेपत्ता पारिएका र अङ्गभङ्ग भएकालाई सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत कुनै सुविधाको घोषणा नगरेको भन्दै एमाओवादी अध्यक्ष दाहालले प्रधानमन्त्री कोइरालाको ध्यानाकर्षण गराउनुभएको अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले बताए ।

यस्तै, सिन्धुपाल्चोकका पहिरो पीडित र मुलुकभर बाढी पहिरोका कारण समस्यामा परेका नागरिकलाई राहत र उद्धारलगायतको काममा ढिलाइ भएको भन्दै तत्काल राहतको व्यवस्था गर्न अध्यक्ष दाहालले आग्रह गरेका थिए  ।