निर्धारित समयमानै संविधान : नेता नेपाल

भदौ १, काठमाडौँ  – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले माघ ८ भित्रै मुलुकले नयाँ संविधान पाउने बताएका छन् ।  राजविराजमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले दलहरुको बीचमा संविधानका अन्तरवस्तुहरुको विषयमा गम्भीर रुपमा छलफल जारी रहेकाले माघ ८ गतेभित्रै नेपाली जनताले सङ्घीयतासहितको संविधान पाउने बताएका हुन । उनले संविधान निर्माणका आधारहरु तयार भइसकेको र  दलहरुबीच असमझदारी नभए निर्धारित समयमै संविधान बन्ने धारणा राखेका हुन् । सहमतिकै आधारमा संविधान निर्माणमा सबैको जोड रहे पनि सहमतिमा संविधान बन्ने आधार निर्माण नभए प्रक्रियामा प्रवेश गरेर भए पनि संविधान बन्छ उनको कथन छ  । संविधान जारी भएपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखलगायतको निर्वाचन हुनुपर्ने बताउनुहुँदै उहाँले संविधान निर्माणमा दलहरु प्रतिबद्ध भएर लाग्नुपर्ने धारणा राखेका हुन् ।  एक अर्काे प्रसङ्गमा वरिष्ठ नेता नेपालले मुलुकको विभिन्न भागमा गएको बाढी पहिरोका कारण व्यापक रुपमा क्षति भएकाले उद्धार र राहत वितरणको कामलाई तीव्रता दिन सरकारसँग आग्रह गर्नुहुँदै बाढी पहिरोका कारण अवरुद्ध भएको बाटोहरु खुलाउने काम भइरहेको बताए ।