पाल्पा विकास मञ्चको तीज कार्यक्रम सम्पन्न

काठमाडौँ  – नेपाली महिलाहरुको महान चाड हरितालिका तीजका अबसरमा पाल्पा विकास मञ्चले आयोजना गरेको तीज कार्यक्रम २०७१ भब्यताका साथ सम्पन्न भएको छ । राजधानीको बुद्धनगर पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रममा चर्चित लोकगायिका कोमल वली, रितु कँडेल, निरु खड्का, उमा श्रेष्ठ, लगायत एक दर्जन कलाकारले प्रस्तुती पस्किएका थिए ।

कार्यक्रममा लोकगायिका कोमल वलीले पाल्पाली ढाका टोपीसँग सम्बन्धको तारिफ गर्दै ४ बर्षे सहयात्रामा आफ्नो नाक पाल्पाको चिनारी करुवा जस्तो लाग्न थालेको र आफु पाल्पाली भएको महसुस हुन थालेको बताइन् । १ घण्टा सम्म निरन्तर प्रस्तुती पस्केकी कोमल वलीलाई पाल्पाका चेलीहरुले सुरु देखि अन्त्य सम्म बारुली कम्मर मच्चाएर साथ दिएका थिए । कार्यक्रमको दौडानमा यस बर्षको आफ्नो तीज कोशीली हल्ला भो शिवजी गाउँदै उपस्थित युवा तन्नेरीलाई पनि वलीले छमछम नचाएकी थिइन् ।

कार्यक्रम अवधीभर गायीका ओलीले विभिन्न ज्ञानगुनका कुरा समेत महिला दिदी बहिनीलाई बाँड्न भ्याइन् । काठमाडौँमा रहेका पाल्पाली नारीहरुलाई बर्षभरिको थकान मेटाउने उदेश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा सहभागी महिलाहरुको गीत र नृत्यले निकै रौनकता थपेको थियो । यसका साथै स्थानीय पाल्पाली कलाकारको प्रस्तुतीले कार्यक्रमलाई थप रोमाञ्चक बनाएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले  हिन्दु नारीको महान पर्वको शुभकामना दिँदै पछिल्लो समय तिज पर्व मनाउदा यस सँगसँगै बढेको बिकृती र बिसडगतीलाई रोक्न महिला दिदी बहिनीलाई आग्रह गरेका थिए । सचिव ज्ञवालीले तीज पर्व चेलीको माइती पक्ष र आफन्तसँगको मिलन बिन्दु भएको बताउँदै अहिले समय फेरीएकाले हिजोको जस्तो विभेदमा महिला दिदी बहिनीलाई टिक्न गार्हे परिस्थितिको स्मरण गरेका थिए । सो अवसरमा उनले एक महिना देखि पार्टी प्यालेस र महड्गा रेष्टुरामा गएर नमनाउन समेत दिदी बहिनीसँग आग्रह गरे ।

सो अवसरमा पाल्पा विकास मञ्चका अध्यक्ष प्रेम शाही समुन्द्री, समाजसेवी मिना  गुरुङ , नेपाल सरकारका सह सचिव दामोदर रेग्मी लगायतका वक्ताले हिन्दुनारीको महान पर्व तिजका अवसरमा शुभकामना सन्देश राख्दै मन्तब्य ब्यक्त गरेका थिए । संचारकर्मी रामहरी शाही समुन्द्रीको मन्त्र मुग्द उद्घोषणले सजीएको कार्यक्रमको संयोजन गिता भुषाल रेग्मीले गरेकी थिइन् । कार्यक्रमको अवसरमा समाजसेवी, व्यबसायी लगायत पाल्पाका विशिष्ठ व्यक्तित्वलाई सम्मानित पनि गरिएको थियो । सो अवसरमा अध्यक्ष शाहीले पाल्पा विकास मञ्चले हरेक वर्ष  तिजको अवसरमा यसरीनै जिल्लाबाट राजधानीमा आएर बसेका पाल्पालीहरु बिच शुभकामना आदान प्रदान तथा परम्परागत कार्यक्रम गर्ने गरेको र यसलाई निरन्तरता दिने बताए  ।