युथ क्रिकेटमा नेपालको लगातार दोस्रो जित

साउन ३१, काठमाडौ – मलेसियामा जारी एसीसी यु–१६ प्रिमियर लिग क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । केहीबेर अघि सम्पन्न खेलमा नेपालले बलियो प्रतिद्धन्द्धी सिंगापुरलाई ४९ रन हरायो । सिंगापुर ३५ दशमलव २ ओभरमा ९४ रनमा सीमित भएको थियो । नेपालका लागि पवन शर्राफले ४ विकेट लिदै सिंगापुरको इनिङ्स कमजोर बनाएका थिए ।

यसअघि टस हारेर व्याटिङ गरेको नेपालले १ सय ४३ रनको योगफल तयार पारेको थियो । सुमित महर्जनले ४१ र प्रनित थापाले ३२ रन बनाएका थिए । नेपालले निर्धारित ४० ओभर पुरै व्याटिङ गर्दा ८ विकेट गुमाएको थियो । शुरुवात्मा कमजोर भएपनि नेपालको  व्याटिङलाई सुमित र प्रनितले सम्हालेका थिए ।

पहिलो म्याचमा हिजो थाइल्याण्डलाई १० विकेटले हराएको नेपालले आज बलियो प्रतिद्धन्द्धी सिंगापुरलाई हराएकाले फाइनल चरणमा पुग्ने सम्भावना बढेको छ । नेपालले एक दिनको विश्रामपछि आइतवार ओमानसँग प्रतिस्पर्धा गर्नेछ । ६ टीम सहभागी भएको प्रतियोगिताको अंक तालिकाको शीर्ष स्थानमा पुग्ने दुई टीम उपाधिका लागि भिड्नेछन् ।