इबोला सङ्क्रमण रोकथामका लागि उच्च प्राथमिकता

साउन ३०, काठमाडौँ –  व्यवस्थापिका–संसद्माको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले इबोला भाइरस सङ्क्रमण रोकथामका लागि मन्त्रालयले उच्च प्राथमिकता दिएको जानकारी गराएका छन् । मन्त्री अधिकारीले विश्व स्वास्थ्य सङ्गठनले इबोला भाइरसविरुद्ध लड्न विश्व स्वास्थ्य आपत्काल घोषणा गरेको चर्चा गर्दै भाइरस नेपाल भित्रिने सम्भावना अत्यन्त कम भएको बताए ।

मन्त्री अधिकारीले इबोला भाइरस आउन नदिन पूर्व तयारी बैठक सम्पन्न भएको, भाइरस सङ्क्रमित देशमा भ्रमण नगर्न आग्रह गरिएको, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत देशका सातवटा नाकामा हेल्थ डेस्क स्थापना गर्न लागिएको सदनलाई जानकारी दिए ।

विश्व स्वास्थ्य सङ्गठनलाई आवश्यक प्राविधिक सहयोग गर्न आग्रह गरिएको र हेल्थ डेस्कका लागि आवश्यक उपकरणको व्यवस्था गर्न लागिएको चर्चा गर्दै मन्त्री अधिकारीले भाइरसविरुद्धमा सचेतनाका कार्यक्रम ल्याउने जानकारीसमेत दिएका थिए ।

त्यस्तै नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले बैठकमा सभामुख सुवासचन्द्र नेम्वाङसँग समय मागगर्दै   इबोला भाइरसको आतङ्क सर्वसाधारण जनतामा भएको र यसको उचित सम्बोधन गर्नुपर्ने बताएका छन् ।