संसदमा बाढी पीडितहरुको उद्धार गर्न माग

साउन ३०, काठमाडौँ –  व्यवस्थापिका–संसदको आजको बैठकमा सभासदहरुले बाढी पीडितहरुको उद्धार र राहतको व्यवस्था गर्नभन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा सभामुख सुवासचन्द्र नेम्वाङसँग समय मागगर्दै नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले  बाढी पहिरोले सिङ्गो देश नै पीडित भएको हुँदा आपत्कालीन कार्यक्रम बनाई उद्धार गर्न आग्रह गरेका छन् ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले तीनदिनदेखि परेको अविरल पानी र आएको बाढीले देशभरका जनता पीडित भएको चर्चा गर्दै बाढी प्रकोपमा परेका जनतालाई उद्धार तथा राहत वितरण युद्धस्तरमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए  ।

एकीकृत माओवादीकाका सभासद  जनार्दन शर्माले अविरल वर्षाका कारण आएको बाढीले पश्चिम तथा पूर्वी नेपालका अधिकांश जिल्ला डुबानमा परेको हुँदा बर्सेनि आइपर्ने यस्ता विपद्लाई सम्बोधन गर्न सरकारले राहतका कार्यक्रम ल्याउनुपर्ने बताए । उनले बाढीले हालसम्म ५० जनाभन्दा बढीको अकालमा मृत्यु भएको र लाखौँको क्षति पुर्याएको भन्दै तत्काल पीडितको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराए  ।

सांसद वीरेन्द्र महतोले कमला नदीमा आएको बाढीले तराई जिल्लाहरू डुबानमा परेको भन्दै कष्टप्रद जीवन बिताइरहेका जनताको उद्धार गर्न माग गरेका छन् ।