पाकिस्तानमा सरकारविरोधी र्‍याली

साउन ३०, काठमाडौं – पाकिस्तानमा नवाज सरिफ सरकारको राजीनामा माग गर्दै बिहीबार दुई भिन्न र्‍याली सुरु भएको छ। तेहरिक ए इन्साफ पार्टीका इमरान खानले आफ्नो गृहनगर लाहोरबाट राजधानी इस्लामावाद जाने र्‍याली आजादी मार्चु सुरु गरेका हुन्। बिहीबारै मुसलमान धर्मगुरु ताहिरूल कादरीले पनि इन्क्लाब मार्च निकालेका थिए।

लाहोरमा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै इमरान खानले भने, म जुनसुकै हालतमा इस्लामावाद पुग्नेछु। तपाईंहरू पनि मेरो साथमै पुग्नुहुनेछ। खान र कादरी दुवैले नवाज सरिफ नेतृत्वको सरकार भ्रष्ट भएकाले राजीनामा दिनुपर्ने माग गरेका छन्। सरकारले दुवै र्‍याली रोक्न सडक सिल गरेको थियो। तर सञ्चारमाध्यमहरूले जनाए अनुसार इमरान खानको र्‍यालीलाई भने इस्लामावाद जाने अनुमति दिइएको छ।

खान र कादरीले कुनै गठबन्धन बनाएका छैनन्। तर दुवै पछिल्ला दिनमा सरकारका कटु आलोचक हुन्। नवाज सरिफले गएको वर्ष भएको चुनावमा बहुमत प्राप्त गरेका थिए। क्यानडामा बसोबास गर्ने धर्मगुरु कादरीले यो महिनामा अन्त्यसम्म सरकार हट्नुपर्ने माग गरेका छन्। अधिकांश मुसलमान स्कुल र च्यारिटीका विद्यार्थी उनका कार्यकर्ता छन्।

पछिल्ला समयमा प्रहरीसँग उनीहरूका हिंसात्मक झडपहरू भइरहेका छन्। कादरीले बिहीबारको आफ्नो भाषणमा हरेक  रबारविहीनलाई घर दिइने, बेरोजगारलाई रोजगारी दिइने र गरिब विपन्नलाई न्यूनतम मासिक आयस्ता दिइने सपना सुनाएका थिए। प्रहरीले अहिलेसम्म उनका २ हजारभन्दा बढी कार्यकर्ता पक्राउ गरिएको जनाएको छ।