११ कर्मचारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

साउन २८, काठमाडौँ  – स्वास्थ्य सेवा विभाग टेकुको पुनर्जागरण महाशाखाका पूर्वनिर्देशक  बालकृष्ण सुवेदी र आनन्दकुमार श्रेष्ठसहितका ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।  फर्जी विल पेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वनिर्देशक सुवेदी र श्रेष्ठसँगै वरिष्ठ जनस्वास्थ्य प्रशासक मदनकुमार श्रेष्ठ, वरिष्ठ जनस्वास्थ्य अधिकृत रत्नलाल श्रेष्ठ, शाखा अधिकृतद्वय डोलराज शर्मा र रुपनारायण खतिवडाविरुद्ध मुद्दा दायर गरेको हो । त्यस्तै, लेखा अधिकृत यदुराज शर्मा नेपाल, फर्मासिस्ट भरतमणी मरहट्ठा, जनस्वास्थ्य निरीक्षक रामजी घिमिरे, सिनियर अहेव रामशरण अधिकारी, र खरीदार कविराज सुवेदीविरुद्ध मुद्दा दायर गरिएको छ ।

अख्तियारले कुल ६८ लाख ७८ हजार ३८ बिगो कायम गरी गरेको छ । आर्थिक वर्ष ०६८।०६९ तथा ०६९।०७० मा कार्यक्रम गर्न भनी पेश्की लिई फछ्र्याैटका लागी पेश गरिएका बिल भरपाईहरु फर्जी भेटिएको अख्तियारले जनाएको छ ।  अनुसन्धानका क्रममा हल नै नभएको होटेलमा हलभाडा लिएको बिल पेश गरेको, सामान नै नकिनेर स्टेसनरी बिल पेश गरेको, भ्रमण आदेश बनाई कार्यालयमै हाजिर रही हवाई जहाजको नक्कली टिकट पेश गरी दैनिक भ्रमणभत्ता लिएको पाइएको अख्तियारले पुष्टि गरेको छ ।