गृहमन्त्री विरुद्ध चरी अभियोगमा उजुरी

साउन २८, काठमाडौँ  –  नेकपा एमालेनिकट मानिने गुण्डानाइके दिनेश अधिकारी ‘चरी’को परिवारले गृहमन्त्री वामदेव गौतमविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ ।  प्रहरीसँगको मुठभेटमा मारिएका गुण्डानाइके चरीको गैरन्यायिक हत्या भएको भन्दै उनको परिवारले गृहमन्त्री गौतमविरुद्ध आज उजुरी दिएको आयोगले जनाएको छ । चरीलाई पक्राउ गरेर सुनियोजित रुपमा हत्या गरेको उनको परिवारको दाबी छ ।  उजुरीमा चरीलाई पक्राउको आदेश दिने, पक्राउ गर्ने र गोली चलाउनेमाथि कानुनी कारबाही माग गरिएको छ । गृहमन्त्री गौतमसहित प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, महानगरीय प्रहरी परिसर काठमाण्डौं र महानगरीय अपराध महाशाखा प्रमुख एसएसपीद्वय उत्तमकुमार कार्की र पुष्कर कार्की, प्रहरी नायव उपरीक्षक मिरा चौधरी र प्रहरी निरीक्षक कुमुद ढुंगेललगायतविरुद्ध पनि उजुरी परेको आयोगले जनाएको छ । प्रहरीले किटानी जाहेर लिन नमानेपछि चरीको परिवार कानुनी उपचारको खोजी गर्दै मानवअधिकार आयोग पुगेको हो । चरीको परिवारले उनको शब पोष्टमार्टमका लागी बिदेश लैजान चाहेको पनि बताएको छ ।