प्रधानमन्त्रीले एकलौटी व्यवहार देखाए : एमाले

साउन २७ , काठमाडौँ –  नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री सुशील कोइरालाले एकलौटी सरकारको जस्तो व्यवहार गरेको आरोप लगाएका छन् । पार्टी कार्यालय बल्खुमा आजदेखि सुरु भएको एमाले केन्द्रीय कमिटीको दोस्रो बैठकमा अध्यक्ष ओलीले हाराहारीकै शक्तिलाई प्रधानमन्त्री कोइरालाले सहयोगीको जस्तो व्यवहार गरेको भन्दै गुनासो गरेका हुन् । ओलीले यस विषयमा कांग्रेस शीर्ष नेतृत्व तहमा छलफल गरिने बताएको एमालले जनाएको छ ।

यही सरकारले नै माघ ८ गतेभित्र संविधान जारी गर्नुपर्छ भन्नेमा एमालले प्रतिबद्ध रहेको भन्दै ओलीले सरकार परिवर्तनको हल्ला निराधार भएको बताएका छन् ।    यसैबीच एमाले बैठकले भने नायक श्रीकृष्ण श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गरेको छ । त्यस्तै, बैठकले नवौं महाधिवेशनमा बराबरी मत ल्याउने चारैजनालाई पूर्ण केन्द्रीय सदस्य बनाएको छ ।

बराबरी मत ल्याउने खुल्लातर्फका खिमलाल भट्टराई र नागेन्द्र चौधरी तथा मुस्लिमतर्फका मोहमद मेहफुज अन्सारी र सिराजलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको हो । बैठकले महासचिवको नेतृत्वमा सचिवालय गठन गरेको छ । जसमा दुई उपमहासचिव र पाँच सचिव रहेका छन् ।