सार्क मुलुकभित्र रोमिङ शुल्क घट्ने

साउन २७, काठमाडौं –  दक्षिण एसियाली मुलुक र इरानबीच मोबाइल फोनमा लाग्दै आएको रोमिङ शुल्क घटाउने निर्णय भएको छ ।  सार्कका सदस्य राष्ट्र तथा इरान सहभागी साउथ एसिएन टेलिकम्युनिकेसन्स रेगुलेटरी काउन्सिलको भुटानको राजधानी थिम्पुमा गएको शनिबार सम्पन्न १८ औं बैठकले सन् २०१५ सम्ममा मोबाइल सेवामा लाग्दै आएको रोमिङ घटाउने वा दूरसञ्चार क्षेत्रको नियामक निकायको क्षेत्राधिकारभित्र ल्याउने निर्णय गरेको हो । एउटा देशको ग्राहक अर्को देशमा जाँदा आफ्नै देशको मोबाइलबाट कल गर्दा लाग्ने शुल्क नै ‘रोमिङ’ हो ।

हालसम्म मोबाइलमा लाग्दै आएको रोमिङ शुल्क सार्क क्षेत्रका नियामक निकायको क्षेत्राधिकारभन्दा बाहिर अर्थात सेवाप्रदायकले आफ्नो खर्च र सेवा शुल्कका आधारमा तय हुँदै आएको छ । रोमिङ शुल्क महँगो हुँदा नेपालीले यहाँको सिमकार्डबाट विदेश जाँदा कल गर्न सक्दैनन् । बैठकले सार्क राष्ट्रहरुको आपसी भित्रता र समन्वयको भावना उजागर गर्न रोमिङ शुल्क घटाई सञ्चार सेवालाई सर्वसुलभ बनाउनेमा जोड दिएको  छ ।

गत साता नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि रोमिङ तथा मोबाइल शुल्क घटाई सञ्चारको सम्बन्ध बढाउनुपर्ने बताएका थिए ।  नेपालबाट भारतमा प्रतिमिनेट साढे २ रुपैयाँमा कल गर्न सकिए पनि भारतबाट नेपालमा कल गर्न भने भारु १० देखि १५ सम्म लाग्छ ।  बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका बरिष्ठ निर्देशक आनन्दराज खनालले भाग लिएका थिए ।