अब सबै ऊ हुन्छ : गाईजात्रा बिशेष

साउन २६, काठमाडौँ-

प्रधानमन्त्रीज्यू, स्वास्थ्य कस्तो छ अहिले ?

हेल्थ एकदम तोतल्ली… तोतल्ली फित एन्ड फाइन छ

(ख्वाङ… ख्वाङ…ख्वाङ…) । यो खोकीले चैँ साह्रै दु:ख दिइरा’छ । फेरि दुई–चार दिनदेखि जरो आएर ओछ्यानबाट उठ्नै सकेको छैन । पेट पनि ठीक छैन किन हो । तर, हेर्नुस् अमेरिकाबाट फर्केपछि आई एम तोतल्ली हेल्दी । म हन्द्रेद पर्सेन्त फित छु ।

 

प्रधानमन्त्रीजस्तो मान्छे, ओछ्यानबाटै उठ्न नसकेपछि देश कसरी चलाउनुहुन्छ ?
देश त पशुपतिनाथले चलाउनुहुन्छ । हाम्रो देश थोडी हिन्दुस्तान हो र प्राइममिनिस्तरले चलाउने ?

 

तपाईं दुई–दुईपटक क्यान्सरले गाँजेको जीर्ण शरीर छ, तैपनि किन पद ओगटेर बसिरहनुभएको छ ? राजीनामा गर्दा हुँदैन ?
मैले भनिसकेँ, आई एम तोतल्ली फित । क्यान्सर–स्यान्सर भन्या त भइहाल्छ नि कहिलेकाहीँ मान्छेलाई । राजीनामा दिएर यो बुढेसकालमा कहाँ जाने ? तपाईंले पाल्नुहुन्छ ?

koirala-ON-GAAIJATRA

भनेपछि राजीनामा गर्ने कुनै मुडमा हुनुहुन्न ?
राजीनामा साजिनामाको कुरा नगर्नुस् । जनताले यत्रो ऊ गरेका छन् । पिस प्रोसेसलाई तुंगोमा पुर्‍याएर देमोक्रेसी र हुमन राइट्समा कुनै कम्प्रोमाइज नगरीकन अघि बढ्छु । मैले मोदीजीलाई पनि भनिसकेको छु । राष्ट्रिय सहमतिको कुनै… कुनै विकल्प छैन । मलाई आफ्नो हेल्थको भन्दा देशको हेल्थको चिन्ता छ बुझ्नुभो ।

 

तर, प्रधानमन्त्री भएर अहिलेसम्म केही गर्न सक्नुभएन भन्ने आरोप छ नि तपाईंमाथि ?
किन केही गरिनँ ? कस्तो अचम्मको ऊ गर्नुहुन्छ ।

 

के–के गर्नुभयो बताइदिनुस् न त ?
प्राइमिनिस्तर हुनासाथ नयाँ दौरा–सुरुवाल सिलाएँ । यतिका मन्त्रीहरू बनाएँ । डेढ महिना अमेरिका बसेर मेरो क्यान्सरको उपचार गरेँ । यति छोतो समयमा यत्रो काम भएको छ ।

 

यो त तपाईंको व्यक्तिगत कुरा भयो । देशका लागि के गर्नुभयो ?
हेर्नुस्, धेरै काम भाको छ । म प्रधानमन्त्री भएदेखि नै राष्ट्रिय सहमतिमा जोड दिएर पिस प्रोसेसलाई तुंगोमा पुर्‍याउनका लागि शान्ति सहकार्य र एकताको कुनै विकल्प छैन । मैले मोदीजीलाई पनि भनिसकेको छु । अब सबै ऊ हुन्छ ।

 

तर, सरकार एकदम सुस्त भयो, कछुवालाई समेत माथ ख्वाउन लाग्यो भनेर आलोचना भइरहेको छ नि ?
हेर्नुस्, ढिला गए अवश्य पुगिन्छ । चाँडो गए भन्न सकिन्न । तपाईंले कछुवा र खरायोको ऊ सुन्नुभएको छैन ? मलाई छितो कुदेर रेस हार्नु छैन ।

 

सिन्धुपाल्चोकमा पहिरोले त्यत्रो मान्छे मरे, तर केही गर्नुभएन भनेर पनि तपाईंको आलोचना भइरहेको छ ।
पहिरो गयो त मैले के गर्नु ? थोडी मैले ल्याइदिएको पहिरो हो ? मैले पहाडमा चढेर लात्ताले हानेर ढालेको जस्तो कुरा किन गर्नुहुन्छ ?

 

मैले भन्न खोजेको, आफ्ना नागरिक बिपत्तिमा पर्दा त प्रधानमन्त्रीले हेर्नुपर्ने होइन ?
हेरिरहेको त छु नि । थोडी आँखा चिम्लेर बसेको छु ।

 

घटनास्थलमा एकचोटि पनि जानुभएको छैन, कसरी हेर्नुभयो ?
टेलिभिजनमा, न्युजपेपरमा हेरिरहेको छु ।

 

मिडियामा हेर्नु अलग कुरा हो । पहिरोपीडितलाई सहयोग गर्ने तपाईंको दायित्व होइन ?
म विश्वकै गरिब प्राइममिनिस्तर भन्ने तपाईंलाई थाहा छैन कि क्या हो । सम्पत्तिका नाममा तीनवटा ऊ छन् । एउटा आफैँलाई चाहियो । एउटा बिग्रेको छ । अब एउटा मोबाइल बोकेर म कसलाई सहयोग गर्न जाउँ ? फेरि पहिरोले त पूरै गाउँ नै बगायो भन्ने सुनेको छु । सबै पुरिएपछि कसलाई सहयोग गर्ने ? पुरिएर मरिसकेका मान्छेलाई के सहयोग गर्ने ?

हेर्नुस्, म फेरि पनि भन्छु । यो पहिरो–सहिरो भनेको त आउँछ, जान्छ । मेजर कुरा के हो भने पिस प्रोसेसलाई कसरी तार्किक निष्कर्षमा पुर्‍याउने भन्ने हो । मैले मोदीजीलाई पनि भनिसक्या छु– सहमति, सहकार्य र एकताको कुनै विकल्प छैन ।

 

मोदीको भ्रमणलाई सरकारले कसरी मूल्यांकन गरेको छ ?
मैले मोदीजीलाई नेपाल भ्रमणको निम्तो दिइसकेको छु । उहाँले समय मिलाएर आउँछु भन्नुभएको छ । देफिनेट्ली यो भ्रमणले नेपालको देमोक्रेसी र लोकतन्त्रका लागि ठूलो ऊ गर्नेछ ।

 

मोदी अस्ति नै आइसक्नुभो त । तपाईं कहिलेको कुरा गर्दै हुनुहुन्छ ?
ए आइसक्नु भो ? ल राम्रो भो । साँच्ची अहिले कहाँ हुनुहुन्छ तपाईंलाई थाहा छ ?

 

त्यतिवेलै गइहाल्नुभो नि !
जानुभो ! रियल्ली ? ओ माई गद,  साह्रै असल मान्छे हुनुहुन्थ्यो । भगवान्ले पनि यस्तै मान्छेलाई ऊ गर्छ । यो घटनाप्रति समस्त नेपाली जनताको तर्फबाट…

हैन, हैन । मैले त नेपाल भ्रमण सकेर भारत जानुभो भनेको ।
ए भारत पो । म पनि के–के सोच्छु के–के । किन जानुभो त भारत ? मलाई नभेटी जानु भो ?

 

भेट्नुभयो त । तपाईंले नै एयरपोर्ट गएर स्वागत गरेको अनि सिंहदरबारमा भेटेको बिर्सिनुभो ?
एक्चुअल्ली, आई एम किडिङ ! मोदीजीसित मैले एक घन्ता गोप्य वार्ता गरेको हुँ । मलाई एक–एक कुरा याद छन् ।

 

मोदीसितको भेट कस्तो भयो त ? तपाईंहरूको गोप्य भेटमा के कुरा भयो ?
मोदीजी आउनुभो मलाई भेट्न । मैले बसौँ भने । उहाँ बस्नुभयो । चिया खाने कि कफी खाने भनेर सोधेँ । उहाँले केही पनि नखाने भन्नुभो । मैले भने कि कहाँ केही नखाएर हुन्छ । पाहुनालाई खाली मुख पठाउने हाम्रो ऊ छैन भनेपछि ठीक छ केही फलफुल मगाउनुस् न त भन्नुभयो । मैले केरा खानुहुन्छ त भनेर सोधेँ । उहाँले ठीक छ मगाउनुस् भन्नुभो । मैले एउटा खानुहुन्छ कि दुइटा खानुहुन्छ भनेर सोधेँ, । उहाँले एउटा मात्रै खान्छु भन्नुभो । मैले ताछेर ल्याऊँ कि नताछी ल्याउँ भनेर सोधेँ । उहाँले बोक्रैसित ल्याउनुस् भन्नुभयो । उहाँले केरा ताछ्नुभयो र भन्नुभयो कि बोक्रामा धेरै भिटामिन हुन्छ यो तपाईं खानुस् । उहाँले केरा खानुभयो र बोक्रा मैले खाएँ । साह्रै दिलदार मान्छे हुनुहुँदो रहेछ । भिटामिन नभएको केरा आफूले खाएर भिटामिन भएको बोक्रा मलाई खान दिनुभो ।

 

राजनीतिक कुराकानी चैँ के भए ? नेपालबारे मोदीको धारणा कस्तो पाउनुभो ?
हिन्दुस्तान नेपाललाई जस्तो सहयोग पनि गर्न तयार छ, भन्नुस् के–के चाहिन्छ भन्नुभयो । मैले एक क्विन्टल केराको बोक्रा पठाइदिनुस् भनेको छु । उहाँले छिटोभन्दा छिटो पठाइदिने कमितमेन्त गर्नुभएको छ । सरकारले अब देशका सबै जनतालाई हिन्दुस्तानले सहुलियत दरमा पठाउने केराको बोक्रा खुवाउने ऊ गरेको छ ।

 

मोदीसितको भेटमा पिटिएको कुरा पनि त भयो होला नि ?
होइन, पितिएको भन्ने कुरा विल्कुल कपोलकल्पित र निराधार हो । यो सबै मिडियाले तुइस्त गरेर लेखेको हो । हामीबीच देफिनेत्ली एकदम सौहार्दपूर्ण वातावरणमा ऊ भएको छ । न मोदीजीले मलाई पित्नुभयो न मैले मोदीजीलाई मैले पितेँ । सामान्य ऊ भएको हो, तर त्यस्तो ऊ भएको होइन ।

 

भारतले नेपाललाई एक खर्ब रुपैयाँ लोन दिने भनेको छ नि । त्यो रकम नेपालले केमा लगानी गर्छ ?
हेर्नुस्, हामी थुप्रै संख्यामा खुत्रुके किन्दैछौँ । भारतले दिने पैसा त्यसमा जम्मा गर्छौं । विभिन्न दलका नेताहरू बिरामी भएका वेला विदेशमा लगेर उपचार गर्न मात्रै यो पैसा खर्च हुन्छ । नेताहरूको उपचार गर्न हाम्रो राष्ट्रिय ढुकुटीले मात्रै नभ्याउने भयो । त्यसैले यो लोन लिएको हो । अब सबै नेताहरू धुक्क भएर बिरामी पर्दा हुन्छ ।

 

तपाईंका भावी योजनाहरू के छन् बताइदिनुस् न नेपाली जनतालाई ?
थुप्रै छन् । सुरुमा त चर्पी जान्छु र ऊ गर्छु । त्यसपछि एक गिलास दूधमा कर्नफ्लेक्स हालेर खान्छु । अनि मेदिसिन लिन्छु । मेदिसिन लिएपछि ५–६ घन्टा यसो आराम गर्छु । त्यतिन्जेलमा निद्रा पनि लाग्छ । खाना खाएर सुत्छु । राति ३–४ चोटि पिसाब फेर्न उठ्नुपर्छ ।

 

देश हाँक्ने योजनाचाहिँ केही पनि छैनन् ?
देश के टाटासुमो हो र हाँक्नुपर्ने ? हाँकेर कहाँ लैजाने ? यता हिन्दुस्तान छ यता चाइना । जाने ठाउँ कहाँ छ ?

 

अन्त्यमा एउटा फरक प्रसंग । चरीको हत्याको विषय यतिवेला जोडतोडले उठिरहेको छ । यसमा प्रधानमन्त्रीज्यूको भनाइ के छ ?
यो घतनाले म एकदम स्तब्ध छु । आई एम तोतल्ली सक्ड ! देफिनेट्नी यसको इन्भेस्टिगेसन हुन्छ । चराचुरुंगीहरू भनेका रास्तका सम्पदा हुन् । उनीहरूलाई मार्नेलाई त ठूलो पाप लाग्छ । यस्तालाई त नर्कमा पनि स्पेस दिनुहुँदैन ।

 

आजको नयाँ पत्रिकामा यो गाईजात्रे अन्तर्वार्ता छापिएको छ ।