पर्वतका सबै गाविसमा विद्युतीकरण

साउन २५, पर्वत –  खम्बा गाडेको चार वर्षपछि दक्षिण पर्वतको पाखापानी गाविसमा बिजुली बलेको छ ।  सामुदायिक विद्युतीकरणमार्फत गाविसका सबै क्षेत्रमा विद्युतीकरणको काम पूरा भएपछि बिजुली बलेको हो । पाखापानीमा रु एक करोड ३२ लाख ८४ हजार ८१ को लागतमा विद्युतीकरण सम्पन्न भएको पाखापानी सामुदायिक विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद सुवेदीले जानकारी दिए ।

विद्युतीकरणका लागि ८० प्रतिशत नेपाल विद्युत् प्राधिकरण र २० प्रतिशत स्थानीय जनताले बेहोरका थिए । गाविसबाट रु २६ लाख ५७ हजार जम्मा गरिएको थियो ।  छिमेकी लुँखु गाविसमा बिजुली बलेको २० वर्ष बितिसक्दासमेत २० मिनेटकै दूरीमा रहेको पाखापानीवासी पल्लो गाउँमा बलेको बिजुली हेरेर बस्नुपर्ने अवस्था थियो । गाविसका कुल ५४२ घरधुरीमध्ये ३०० भन्दा बढी घरमा बिजुली बलिसकेको र अन्य घरमा वाइरिङ हुँदै गरेको अध्यक्ष सुवेदीले बताए । विद्युतीकरणको कामको ठेक्का लिएको ठेकेदार कम्पनीले समयमै काम सम्पन्न नगर्दा लामो समयसम्म विद्युतीकरण हुन सकेको थिएन । विद्युतीकरणका लागि काठमाडाँैको जयदुर्गे कन्स्ट्रक्सन र त्रिपुरेश्वर कन्डक्टर कन्स्ट्रक्सनले ठेक्का लिएको थियो ।

  गाउँमा विद्युतीकरण भएसँगै गाउँवासीले सानातिना उद्योग र कुखुरापालनलगायतका व्यवसायसमेत सुरु गरिसकेको स्थानीयवासीहरुको भनाइ छ ।  जिल्लाका ५५ गाविसमध्ये पाखापानी गाविससँगै ५४ गाविसमा विद्युतीकरण सम्पन्न भइसकेको छ । अब बाच्छा गाविसमात्र विद्युतीकरण गर्न बाँकी छ ।  सामुदायिक तथा केन्द्रीय प्रसारणबाट विद्युतीकरण नभए पनि बाच्छा गाविसमा स्थानीय खोलामा निर्मित लघुजलविद्युत्बाट विगत एक दशकभन्दा अघिदेखि नै विद्युतीकरण भइरहेको छ ।

जिल्लाका सबैजसो गाविसमा विद्युतीकरण भइसकेको र कुनै पनि बस्ती र घरधुरी बिजुली बाल्नबाट वञ्चित नरहेको नेपाल विद्युत् प्राधिकरण पर्वत शाखाले जनाएको छ ।  पर्वतका २९ गाविसमा सामुदायिक विद्युतीकरणमार्फत र २६ गाविसमा नेपाल विद्युत् प्राधिकरणमार्फत विद्युतीकरण भएको छ ।