संविधानका विवादित विषयमा सहमति खोजिने

साउन २४, काठमाडौँ – संविधान निर्माणका अन्तरवस्तु र विवादित विषयमा सहमति खोज्न सत्तारुढ प्रमुख दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा  माओवादी बीच आज छलफल भएको छ । काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा संविधानका अन्तरवस्तु र विवादित विषयलाई एकपक्षीय र बहुपक्षीय छलफलद्वारा किनारा लगाउने सहमति भएको छ ।

छलफलमा निर्धारित समयभित्रै संविधान निर्माणका लागि गृहकार्यलाई अघि बढाउने दुवै पार्टीबीच सहमति भएको छलफलमा सहभागी नेपाली काँगे्रसका उपसभापती उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए । पौडेलका अनुसार संविधान निर्माणका सन्दर्भमा लोकतन्त्रका आधारभूत पक्षमा अडिक रहेर विदेशी असल कुरा ल्याइएपनि मूलतः नेपालकै ढाँचामा संविधान बनाउ भन्नेबारे पनि कुराकानी भएको छ ।

संविधानका विवादित सङ्घीय संरचना, शासकीयस्वरूप, निर्वाचन प्रणाली, न्याय प्रणालीसँग सम्बन्धित प्रस्तावित विषय तथा समावेशीताका मुद्दालाई छलफल गरेर सहमति गर्ने मोटामोटी कुराकानी भएको उनले बताए । छलफलमा काँग्रेसका तर्फबाट उपसभापति रामचन्द्र पौडेल, वन तथा भू–संरक्षणमन्त्रीसमेत रहनुभएका केन्द्रीय सदस्य महेश आचार्य र एमाओवादीको तर्फबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव कृष्णबहादुर महरा सहभागी थिए ।